काठमाडौं । जुनसुकै देशमा लिगलाई घरेलु फुटबलको मेरुदण्ड मानिन्छ । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले राष्ट्रिय टोलीको ढोका खोल्न सक्नेछ । गत फागुनमा काठमाडौंमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगले थुप्रै युवा स्टार खेलाडी जन्माएका छन् । लिगले पाएको युवा स्टारहरु मध्ये रुस्लान थ्री स्टारका २० वर्षे सुसान श्रेष्ठ एक हुन् । उनले थ्री स्टारजस्तो उपाधि दावेदार टोलीबाट आफुलाई उदियमान खेलाडीको रुपमा उभ्याउन सफल भए । फुटबल यात्रा शुरु गरेको ६ वर्षमा सुसान अहिले थ्री स्टार जस्तो उपाधिको सदावहार दावेदार टोलीको मुख्य खेलाडीको रुपमा स्थापित भइसकेका छन् । फुटबल करियर ‘हुने बिरुवाको चिल्लो पात’ नेपालीमा उखान नै छ । सानैदेखि फुटबलमा रुचि भएका सुसान अहिले चिल्लो पात बनिसकेका छन् ।
सुसानको फुटबल करियर २०७० देखि अघि बढेको हो । काठमाडौंका स्थायी बासिन्दा सुसान १३ वर्षको उमेरमा हरेक बिहान सानो गौचरन मैदान नक्सालमा फुटबल हान्न पुग्थे । त्यतिबेला उनले राम्ररी फुटबल हान्न जान्ने थिए । दाई सन्जय श्रेष्ठ फुटबलको एकदम सौखिन रहेकाले पनि उनलाई फुटबल अघि बढाउन कष्ट भएन । दाईले नै उनलाई सानो गौचरनसम्म अभ्यासका लागि लैजाने गर्दथे । ‘मेरो दाई फुटबलको सौखिन हुनुहुन्छ । आज जे छु, जहाँ छु दाईकै कारण छु । दाईकै कारण मेरो खेल जीवन अघि बढेको छ । दाईले नै मलाई खेल्ने ठाउँसम्म लैजाने गर्नुहुन्थ्यो ।’ सुसानले भने, ‘अभ्यासपछि दाईले नै स्कुल पुर्याउनु हुन्थ्यो । मैले त्यसरी नै मेरो खेल करियर अघि बढाए । अहिले दाईले मेरो कुनै पनि खेल छुटाउने भएको छैन । छुटिहालेको अवस्थामा फोन गरेर सोधिहाल्नु हुन्छ ।’ गौचरनमा अभ्यास गरेको अवस्थामै उनी काठमाडौं जिल्ला लिग खेल्नको लागि छनोटमा परे । खेल्ने मौक समेत पाए ।
जिल्ला लिग खेल्दै गर्दा उनी यु–१४ छनोटमा पर्न सफल भए । उनले काठमाडौंमा नै आयोजना भएको एएफसी यु–१४ छनोट खेल खेले । त्यसपछि उनी एन्फा एकेडेमीमा करिव ६ महिना बसे । एन्फामा प्रशिक्षक देवेन्द्र जंग शाही र बिराट जंग शाहीबाट उनले आफ्नो खेल कला थप निखार्ने मौका पाए ।
एन्फाबाट निस्केपछि २०७२ सालमा सुसानले टुसाल युथ क्लब बाट सहिद स्मारक ‘बी’ डिभिजन लिग खेले । २०७३ मा चर्च ब्वाइज क्लब बाट ‘सी’ क्वालिफायर खेलेपछि उनी थ्री स्टारको नजरमा परे ।
उनले ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताबाट थ्री स्टारमा खेल करियर अघि बढाए । उनले सुदूरपश्चिम फुटबल क्लबविरुद्ध गोल गर्दै उनी क्लबको पहिलो गोलकर्ता बने ।
त्यतिबेला उनले क्लबका पुर्व खेलाडी विष्णु गुरुङ र हालका कप्तान बिक्रम लामाको प्रशिक्षण मौका पाएका थिए । उनको खेल देखेर नै क्लबमा मुख्य प्रशिक्षक मेघराज केसी र कप्तान बिक्रम लामाले सुसानलाई सिनियर टोलीमा मौका प्रदान गरे । त्यसपछि उनी थ्री स्टारको टोलीमा रहँदै आएका छन् । सुसान २०७३ मा थ्री स्टार एअफसी कप क्वालिफयर्स पहिलो चरणको खेल खेल्न मंगोलियामा खेल्न जाने टोलीमा रहेपनि उनले मंगोलिया भ्रमण गर्न पाएनन् । थ्री स्टार समूह ‘बी’ मा समूह विजेता भएर स्वदेश फर्कियो । त्यसपछि थ्री स्टार बोर्दाेलोई ट्रफीको लागि भारत प्रस्थान गर्दा उनी पुनः टोलीमा समेटिए । त्यहाँ थ्री स्टार च्याम्पियन बनेर स्वदेश फर्किएको थियो ।
त्यसपछि एएफसी कपको दोस्रो चरण खेल्ने तयारी गर्दै गर्दा एन्फाको लापरवाहीका कारण थ्री स्टारले खेल्न नपाउदा एन्फासँग क्षतिपुर्तिको माग गर्दै क्षतिपुर्ति नपाएसम्म फुटबल नखेल्ने कठोर निर्णय गरेको थियो । थ्री स्टारको यो निर्णयसँग क्लबका केही खेलाडीहरुले अन्य क्लबबाट मोफसलका लिगहरु खेले । झन्डै १४ महिनापछि थ्री स्टार फुटबलमा फर्कदा सुसान पनि टोलीमा समेटिए । फुटबलमा फर्किएकै सिजन आधादर्जन गोल्डकपको उपाधि जित्दै आफ्नो छवि फर्काएको थियो । थ्री स्टारले सुदूरपश्चिम खप्तड गोल्डकपबाट यात्रा थालेको थियो । सुसानले तिलोत्तमा गोल्डकपमा फ्रेन्ड्स क्लबविरुद्धको खेलमा थ्री स्टारको लागि पहिलो गोल गरे ।
क्लबको लागि पहिलो गोल गर्दा निकै गर्व महसुस भएको सुसान बताउछन् । त्यतिबेला टोलीमा स्टार र सिनियर खेलाडीहरुको बाहुल्यता रहेका कारण सुसानले कमै मात्रामा अवसर पाउने गर्दथ्यो । वैकल्पिक खेलाडीको रुपमा अवसर पाउने उनी पाएको मौकालाई सदुपयोग गर्न माहिर छन् । सुसानले फ्रेन्डसविरुद्धको खेलमा पनि मैदान छिरेको दोस्रो मिनेटमा गोल गर्दै आफुलाई प्रमाणित गरेका थिए । २०७५ को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुसान टोलीमा रहेपनि उनले लिगमा खेल्ने मौका नै पाएन । तर, गत फागुनमा सकिएको लिग उनको शीर्ष लिगमा ‘डेब्यु’ गरे । उनले आफ्नो लिगमा एक गोल र केही असिस्ट गर्न सफल भए । तर, पनि उनी लिगमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकार्छन् । ‘गएको लिगमा थ्री स्टारले युवा टोलीलाई समेटेर लिग खेलेको थिए । क्लबले म बाट राम्रो खेलको अपेक्षा गरेको थियो । तर, मैले सोचेजस्तो खेल्न सकेन ।’ सुसानले भने, ‘आफ्नो कमी कमजोरी महसुस गरेको छु । त्यसलाई सुधार्दै मिहेनत गरेर टिमलाई धेरैभन्दा धेरै उपाधि जिताउन चहान्छु ।’ सुसानले लिगपछि मोफसलको तीन प्रतियोगितामा भने उत्कृष्ट खेल प्रदर्शन गरे । १ चैतमा पोखरामा सम्पन्न आहा रारा गोल्डकपमा गान्तोक सिटी फुटबल क्लबविरुद्ध सुसानले उत्कृष्ट प्रदर्शनसहित दुई गोल गरेका थिए । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्तासेत बने । ‘बिक्रम दाई (कप्तान) ले मलाई विश्वास गरेर टिममा समावेश गर्नुभएको थियो । दाई र टिमको विश्वास कहिल्यै टुट्न दिने छैन’ उनले थपे । सबैको जस्तै सुसानको पनि नेपालको राष्ट्रिय टोलीबाट खेल्ने चाहना छ । आफ्नो प्रदर्शनलाई निखार्दै लान सकेको अवस्थामा उनीमा राष्ट्रिय टोलीबाट खेल्न सक्ने क्षमता छ ।