चोटले चुसेको सृजनको खेल करियर

काठमाडौं । घाइते (इन्ज्युरी) भएर खेलबाटै टाढिनुपर्ने खेलाडीको लागि जीवनमा सबैभन्दा पीडादायी क्षण हो । चोटकै कारण धेरै खेलाडीको आफ्नो सक्रिय खेलजीवनबाट बिदाइ लिइसकेको धेरै घट्नाहरु छन् । ति मध्ये एन्फाको सुनौलो ब्याजमध्येका सृजन श्रेष्ठ एक हुन् । एन्फा एकेडमीका सुनौलो ब्याच मानिने बिमल घर्तीमगर, अन्जन बिष्ट, अनन्त तामाङ र हेमन्त थापामगरले सियिनर राष्ट्रिय टोलीमा स्थान बनाइसक्दा मैदानमा गोलरक्षकको भुमिका निर्वाह गर्दै आइरहेका सृजन पटक–पटकको चोटले खेल करियर नै समाप्त भइसकेको छ ।

फुटबल भनेपछि मरिहत्ते गर्ने सृजनले २०६६ बाट बुटवलको एन्फा एकेडेमीबाट खेल करियर शुरु गरेका थिए । बुवा माधव प्रसाद श्रेष्ठ पनि एक खेलाडी भएकोले उनलाई फुटबलको माहोलमा भिज्नको लागि कुनै कठिनाइ भएन । बुटवल एन्फा एकेडमीमा खेलाडी छनोट हुने खबर सृजनका बुवाले थाहा पाएपछि बुवाले नै उनलाई छनोटमा पठाएका थिए । “बुटवल एन्फा एकेडमीमा खेलाडी छनोट हुने खबर बुवाले थाहा पाउनु भएको रहेछ । बुवाले मलाई छनोटमा जाने हो भनेर सोध्नुभयो र मैले बुवाको प्रस्तावलाई स्वीकार्दै जिल्ला संघमा गए । सौभाग्यवश म छनोटमा पर्न सफल भए ।  त्यहीबाट सुरु भयो मेरो खेल जीवन “ सृजनले बताए ।

छनोटपछि सृजन लगायत टोलीले भारतको नयाँ दिल्लीमा हुने सुब्रतो कपको लागि तयारी थाल्यो । बुटवल एलाइट स्कुलको प्रतिनिधित्व गर्दै बुटवल एन्फाका खेलाडीले सुब्रतो कप खेल्ने थियो । सो प्रतियोगितामा गोलपोस्ट सम्हाल्ने जिम्मा सृजनले पाएको थियो । क्वाटरफाइनलसम्म पोस्टको जिम्मा सम्हालेका सृजनले एलर्जीका कारण सेमिफाइनल र फाइनल खेल गुमाउदा सोजित गुरुङले गोलपोस्ट सम्हालेका थिए । टोली २०६६ को सुब्रतो कप च्याम्पियन बनेर फर्कियो । झन्डै तीन वर्ष बुटवल एन्फा एकेडेमीबा बिताएका सृजनको प्रतिभा निखार्ने काम प्रशिक्षक यम गुरुङ र बिक्रम ठकुरीले गरेका थिए । सृजन गुरुहरुको सहयोगलाई कहिल्यै भुल्न नसक्ने बताउछन् । “मलाई बल हान्नेदेखि समाउनेसम्म यम गुरु र बिक्रम गुरुले सिकाउनु भएको हो । उहाँहरुको माया, साथ र सहयोगको कारणले नै मैले मेरो खेल जीवन अघि बढाउन सक्षम भएको हो । गुरुहरुप्रति आभारी छु ।“ सृजनले भने ।

उनी विगत सम्झदै भन्छन् । “२०६९ मा जापानमा भएको यु–१४ किजोना प्रोजेक्ट फुटबल फेस्टिभलको लागि बुटवल एन्फा एकेडमी र धरान एन्फा एकेडमीबाट सबै खेलाडीलाइ काठमाडौँस्थित केन्द्रीय एन्फा एकेडमीमा छनोटको लागि बोलाइएको थियो । म पनि छनोटमा छनोट हुदै जापान जानको लागि योग्य बने ।“ जापानबाट फर्किए लगतै टोलीलाई एन्फा एकेडमीमै राख्ने र अन्तर्राष्ट्रिय उमेर समूहका प्रतियोगिताहरुमा सोही टोलीले नेपाललाई प्रतिनिधित्व गर्ने निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको थियो । टोली उमेर समूहका थुप्रै प्रतियोगीतामा उच्च प्रदर्शन गर्दै टोलीलाई एन्फाको सुनौलो ब्याचको रुपमा चिनाउन सफल भएको थियो ।

टोलीले घरेलु मैदान दशरथ रंगशालामा एएफसी कप यु–१६ क्वालिफायर पहिलो चरण, जापानमा खेलेका किजोना प्रोजेक्ट फुटबल फेस्टिभल र थाइल्यान्दमा खेलेका एएफसी कप यु–१६ क्वालिफायरको दोस्रो चरण सम्मको यात्रा तय गर्दा सृजन टोलीमा थिए । उक्त खेलहरुमा पहिलो रोजाईमा विरलै अवसर पाएपनि सृजनले दक्षिण कोरिया र बेल्जियमसँगको खेलमा भने मौका पाएका थिए । उनले कोरियासँगको मैत्रीपुर्ण खेलमा २० मिनेट खेल्ने मौका पाएका थिए । उनले पाएको मौकालाई सदुपयोग गरेका थिए । उनको प्रदर्शन तारिफयोग्य थियो । “सबैले तिम्रो खेल राम्रो छ भन्दै प्रसंसा गर्नुहुन्थ्यो तर पहिलो रोजाईमा भने कहिल्यै पर्न सकिन ।“ उनले भने ।

२०७२ मा थाइल्याण्डमा भएको एएफसी कप यु–१६ क्वालिफायरको दोस्रो चरणबाट बाहिरिएपछि एन्फाले राष्ट्रिय लिगका लागि एकेडेमीका सबै खेलाडीलाई रिलिज गरिदिदा टोलीका प्राय सबै खेलाडी सुदूरपश्चिम फुटबल क्लबमा आबद्ध हुदा सृजन पनि सोही क्लबमा पुगेका थिए । तर, उनले सुदूरपश्चिमबाट राष्ट्रिय लिगमा ‘डेब्यु’ को अवसर पाएनन् । सुदूरपश्चिममा विरेन्द्र चन्द र वेराज कुरुङबुङ रहँदा उनले राष्ट्रिय लिगमा खेल्ने अवसर नपाउदा नै यु–१९ टोलीको छनोटमा पर्न असफल रहेको बताएका छन् । “राष्ट्रिय लिगमा मैले कुनै अवसर नै पाइन । खेल्ने अवसर पाएको भए यु–१९ टोलीमा छनोट हुन सक्ने थिए । तर राष्ट्रिय लिगमा मौका नै पाइन । त्यसपछि उमेर समूहबाट पनि टाढिए ।“ २४ वर्षीय सृजनले भने । तर, उनले हार मानेनन् । मोफसलका विभिन्न प्रतियोगितामा विभिन्न क्लबट खेल्दै आफ्नो करियरलाई अघि बढाइरहे । नेपालकै चर्चित र लोकप्रिय थ्री स्टार क्लबबाट उनले झापा गोल्डकप र आहा! रारा गोल्ड कप जस्ता ठुला मोफसलका प्रतियोगिता खेले ।

२०७३ मा उनले पुल्चोक स्पोर्ट्स क्लबबाट ‘बी’ डिभिजन खेल्ने अवसर त्यागेनन् । उनले टोलीको नेतृत्व गर्ने अवसर समेत पाए । “त्यो मेरो खेल जीवनकै गर्विलो क्षण थियो । म माथि विश्वास गर्नु भएकोमा पुल्चोक स्पोर्ट्स क्लबका प्रशिक्षक र अफिसियलप्रति सधै कृतज्ञ छु ।“ सोही लिगमा चोट बोकेपछि सृजनको खेलमा उपस्थिति न्युन बन्यो । ठुला प्रतियोगिता नखेलेका उनले मोफसलका केही प्रतियोगिता भने खेलिरहे ।

उनका ब्याचका गोलरक्षक रोमन रसाइली विभागीय नेपाल एपिएफ क्लबमा तथा दोस्रो रोजाईका गोलरक्षक देव लिम्बुले ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सबाट व्यावसायिक खेल जीवन अघि बढाउदा सृजन भने चोटका कारण फुटबलबाटै टाढिने अवस्थामा पुगेका छन् ।

सुरुवाती चरणमा नै ६ पटकसम्म ठुला चोटलाई जित्दै आफ्नो खेल जीवन अघि बढाइरहेका सृजन पछिल्लोपटक मैदान बाहिरको गम्भीर चोटले थलिएका छन् । बुटवलमा नियमित आयोजना हुदै आएको फर्साकटिकार कप खेलेर फर्कदा उनी गत डिसेम्वरमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

अहिले गृहनगर बुटलमा उनी उपचार गराइरहेका छन् । उनले आफ्नो स्वास्थ्य क्रमिम सुधार हुदै गएपनि डाक्टरले अब खेलमा फर्कन एकदम कठिन हुने संकेत दिनुभएको बताए । धेरैपटक लागेको चोटसँग जुधेका उनले फुटबल पछिको भविष्यलाई अध्ययनलाई पनि अघि बढाएका छन् । उनले कलिनरी आर्ट्समा डिप्लोमा र बरिस्ठा कोर्स पनि पुरा गरेका छन् ।

जीवनको जुनसुकै परिस्थितिमा घर परिवारको समर्थन पाएका कारण आफु भाग्यमानी रहेको उनी बताउछन् । “घाइते भएको बेला परिवारले केही नभनी स्याहार गर्नुभयो । मेरो दुःखमा घर परिवारले ठुलो साथ दिएका छन् । त्यसैले म आफुलाई भाग्यमानी ठान्दछु ।“ उनले भने । पर्याप्त आराम पाएकाले पनि उनी मैद्यान फर्कन सक्नेमा आशावादी छन् । “मलाई मैदान फर्कन सक्छु भन्नेमा पुर्ण विश्वास छ । मैले धेरै चोटलाई जितिसकेको छु । यो चोटलाई पनि जित्न सक्नेमा आशावादी छु । मेरो लक्ष्य अझै सकिएको छैन । चोटमुक्त हुदै ‘ए’ डिभिजन लिग खेल्ने धोको छ । चोटलाई जित्न नसके विदेश जानुबाहेकको विकल्प छैन ।“ उनले आफ्नो योजना सुनाए ।