रोनाल्डो म्यानचेष्टर युनाइटेडको बेस्ट इभर ‘प्रिमियर लिग’ खेलाडी!

रियल मेड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो इङलिस जायन्ट म्यानचेष्टर युनाइटेडका सर्वकालिन उत्कृष्ट प्रिमियर लिग खेलाडीका रुपमा छनौट भएका छन् । वाटफोर्डविरुद्ध सिजनको अन्तिम खेल खेलेको म्यानचेष्टर युनाइटेडले सोही खेल प्रिमियर लिगमा उसको १००० औं प्रिमियर लिग म्याच समेत थियो ।

आफ्नो यो उपलब्धीको खुशीयाली मनाउन युनाइटेडले आफ्ना समर्थकहरुलाई चार विधामा मतदान गर्न आह्वान थियो । जसमा उत्कृष्ट गोल, उत्कृष्ट गेम र उत्कृष्ट सेभका साथै सन् १९९२ देखि युनाइटेडको जर्सीमा खेल्ने उत्कृष्ट खेलाडी समावेश गरिएको थियो ।

जसमध्ये उत्कृष्ट गोलतर्फ वायन रुनीले म्यानचेष्टर सिटीविरुद्ध गरेको गोललाई छनौट गरिएको थियो भने उत्कृष्ट गेमतर्फ सन् २००९ मा युनाइटेडले हात पारेको ४–३ को जितलाई छनोट गरिएको थियो । त्यस्तै उत्कृष्ट सेभ डेभिड डे हेयाको सेभलाई छनौट गरिएको छ । डेभिडले सन् २०१२ मा चेल्सीका लागि खेलिरहेका हुवाँ माटाको प्रहार उत्कृष्ट रुपमा बचाएका थिए ।

केही समर्थकहरुले अन्य खेलाडीहरुलाई पनि छनौट गरेका थिए, जसले क्लबका लागि टप फ्लाईटमा महत्वपूर्ण योगदान दिएका थिए । उत्कृष्ट खेलाडीतर्फ रोनाल्डोले रेयान गिग्सलाई दोस्रो र पाउल स्कोल्सलाई तेस्रो स्थानमा छाड्दै उत्कृष्ट बनेका थिए ।

यो नतिजापछि कतिपय समर्थकहरुले रोनाल्डोको तुलनामा क्लबका लागि गिग्स र स्कोल्सले धेरै योगदान दिएको भन्दै आलोचना समेत गरेका थिए । कतिपयले रोनाल्डोको स्थानमा एरिक केन्टोनाको चर्चा समेत गरेका छन् ।

रोनाल्डोले युनाइटेडका लागि खेल्दै तीन प्रिमियर लिग उपाधि जितेका थिए । त्यस्तै सन् २००८ मा प्रतिष्ठित बेलन डि अर र फिफा प्लेयर अफ द इयर अवार्ड समेत जितेका थिए । त्यसैगरी सन् २००७–०८ सिजनमा प्रिमियर लिगको गोल्डेन बुट अवार्ड समेत जितेका थिए ।