रियलको सहज जित

एजेन्सी, स्पेनिस ला लिगामा रियालले रेलिगेसन जोनमा रहेको इबारविरुद्ध २-० गोलले जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियालले इबारविरुद्ध जित निकाल्दा मार्को एसेन्सियो र करिम बेन्जिमाले एक एक गोल गरे । रियालले खेलको ४१ औं मिनेटमा अग्रता बनायो । उसका लागि एसेन्सियोले गोल गर्दै टिमलाई एक शुन्यले अगाडी राखे ।

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको रियालले दोस्रो हाफमा एक गोल थप्यो । अध्यक्ष फ्लोरेन्टिनो पेरेज अध्यक्ष भएको एक हजार खेलका रुपमा रहेको यो खेलमा रियालका लागि करिम बेन्जिमाले ७१ औं मिनेटमा दोस्रो गोल गरे । उनले भिसिनियस जुनियरको पासमा गोल गरे ।

त्यसपछि इबार खेलमा फर्कन सकेन र पराजित भयो । यो जितपछि रियालले २९ खेलमा ६३ अंकका साथ लिगको दोस्रो स्थानमा पुगेको छ । उसले शिर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दुरी दुई अंकमा झारेको छ ।