“सलाह उत्कृष्ट खेलाडी हो र म उसलाई सम्मान गर्छु तर उसँग डराउँदिन” : रेमोस

रियल मेड्रिडका कप्तान सर्जियो रेमोसले च्याम्पियन्स लिगको फाइनलमा आफ्नो टोलीले लिभरपुलका स्टार विंगर मोहमद सलाहसँग नडराउने बताएका छन् । उनले सलाहलाई टोलीका अन्य ११ खेलाडीसरह नै समान रहेको बताएका छन् । गत समरमा रोमाबाट एनफिल्ड आएका सलाह पहिलो सिजनमै लिभरपुलका लागि गोलमेशीन बनेका छन् । उनले लिभरपुलका लागि खेलेको सबै स्पर्धामा गरेर कुल ४३ गोल गरिसकेका छन् । फाइनलमा लिभरपुलले च्याम्पियन्स लिगमाथि ह्याट्रिक गर्न गईरहेको रियल मेड्रिडको सामना गर्दैछ ।

सलाहको हालको शानदार लयलाई देखेरले धेरैले आगामी बर्षको प्रतिष्ठित बेलन डिअरमा यी इजिप्शियन विंगरले रियल कै पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई बलियो चुनौति पेश गर्न सक्ने बताउँछन् । यद्यपि यो कुरालाई रेमोस भने अस्वीकार गर्छन् ।

डेली मिररसँग कुरा गर्दै रेमोसले भनेका छन् “यस सिजन सलाहले के गर्न सक्छन् हामी हेर्दैछौं । तर हामी लिभरपुलविरुद्ध खेल्दा उनी अन्य ११ खेलाडीसरह नै हुनेछन् । मैले आफ्नो करियरमा संसारकै बेस्ट फरवार्डहरुको सामना गरेको छु । ती मध्ये कतिपय यस्ता पनि थिए, जसलाई दुनियाँकै महान खेलाडी पनि मानिन्थ्यो । मेरो लागि कुनै डर छैन । म भित्र उसप्रति सम्मान छ तर डर छैन ।”

रेमोसका अनुसार आफ्नो टोलीले लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने विश्वास व्यक्त गरेका छन् ।