“नेमार रियल म्याड्रिड गए रियललाई कसैले हराउन सक्दैन”

नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर स्पेनिस क्लब रियल म्याड्रिड जान सक्ने विषयमा हरेक दिन जसो चर्चा हुने गरेको छ ।

पछिल्लो पटक ब्रालियन पूर्व खेलाडी बेबेटोले नेयमार गएमा रियललाई कसैले हराउन नसक्ने दाबी गरेका छन् । विश्व कै उत्कृष्ट खेलाडीमध्ये एक बन्ने योजनासहित नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका थिए । सिजनको सुरुवात पनि उनले उच्च प्रदर्शनका साथ गरे । तर, चोटका कारण उनले पुरा सिजन भने खेल्न सकेनन् ।

एउटा खेलका दौरान पेनाल्टी हान्ने विषयमा इडिन्सन काभानीसँग विवाद भएपछि भने नेयमारले पिएसजी छोड्न चाहेको चर्चा व्यापक भएको थियो ।

रियलले पनि नेयमारप्रति चासो राखिएको बताइएको छ । बेबेटोले नेयमारका बारेमा भने, ‘रियल राम्रो र प्रभावशाली इतिहास भएको क्लब हो । नेयमार जस्तो खेलाडी जो आफैमा फरक छन् । उनका लागि त्यो टिममा पक्कै ठाँउ हुनेछ ।’

उनले अगाडि थपे, ‘पिएसजी छोड्न उनलाई कठिन होला , मलाई थाहा छैन के हुन्छ । तर, यदि उनको सम्झौता भयो भने रियललाई कसैले हराउन सक्दैन । अहिलेको अवस्था भन्दा प्रदर्शनमा फरक हुनेछ । नेयमारले बार्सिलोना छोड्दा पनि बुझ्न सकेको थिएन । अब हेरौं भविष्यमा के हुनेछ ।’

हल्ला जे जस्तो चलेपनि पिएसजी भने नेयमारलाई क्लबमै राख्नका लागि प्रतिबद्ध छ । नेयमारले पनि अर्को क्लबमा जाने भन्दा पनि अहिलेकै टोलीलाई सहयोग गर्न चाहेको बताएका छन् ।