रिभाल्डो-: “नेमार रियल म्याड्रिड जानु पर्छ”

बार्सिलोना एवंम् ब्राजिलका महान खेलाडी रिभाल्डोले नेयमारको सरुवालाई थप बल लिने क्रममा उनी निकट भविष्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल म्याड्रिड जान सक्ने बताएका छन् ।नेयमारले ठूलो क्लबमा खेल्नु पर्ने आवश्यकता रहेको औल्याउँदै रिभाल्डोले उनी बार्सिलोना फर्केने विकल्प नदेखिएकोले रियलनै उनका लागि उपयुक्त हुने बताएका छन् ।

पिएसजीमा नेयमारको सुरुवाका लागि कुनै सर्त छैन । त्यसको अर्थ रियलले पिएसजीले तिरेको रकम भन्दा बढी रकम तिरेर उनलाई किन्न सक्नेछ । युरोपियन च्याम्पियन्स लिगको साविक विजेताले नेयमारका लागि ठूलो रकम खर्च गर्ने सम्भावना पनि रहेको बताइएको छ ।

‘मैले पहिला पनि भनिसके नेयमार विश्वका उत्कृष्ट खेलाडी बन्न सक्छन् । तर पिएसजीमै रहेर त्यो सम्भावना कहिल्यै हुन्न । उनले पिएसजी छाड्नु पर्ने हुन्छ,’ ब्राजिलमा आयोजित एक कार्यक्रममा रिभाल्डोले भने, ‘इङ्ल्यान्ड, स्पेन, इटाली, जर्मनी भनेको फरक हो । म फुटबल प्रतिस्पर्धाको कुरा गरिरहेको छु । नेयमार बार्सिलोना फर्कने छैनन, किनकी त्यहाँको अवस्था उनका लागि धेरै कठिन छ ।’

उनले आफुले प्राप्त गरेको सुचना अनुसार नेयमार रियल जाने सम्भावना बढी रहेको बताए । उनले भने, ‘मलाई लाग्छ उनी रियल गएमा विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्छन् ।’ चोटका कारण खेल्न नसक्नुअघि पिएसजीमा नेयमारले उच्च प्रदर्शन गरेका थिए । रसिया विश्व कपका लागि भने उनी पूर्णरुपमा फिट हुने अपेक्षा गरिएको छ ।