नयाँ साउथ वेस्ट एसियन फुटबल फेडरेशन गठन, नेपालको समावेस छैन!

दक्षिण एसियाली र पश्चिम एसियाली गरी कुल १२ देशहरुको सहभागितामा साउथ वेस्ट एसियन फटबल फेडरेशन (स्वाफ) गठन गरिएको छ । यसको अध्यक्षमा तुर्की अल शेख रहने छन् ।

स्वाफको मुख्य कार्यालय साउदी अरबको जेद्दाहमा हुनेछ । नवगठित स्वाफले एसियाली क्षेत्र कै ठूलो मध्ये एक फुटबल प्रतियोगिता आयोजना गर्ने समेत जनाइएको छ । स्मरणीय छ कि स्वाफमा दक्षिण एसियाका नेपाल र भुटानबाहेक अरु सबै देश समावेश छन् । स्वाफमा दक्षिण एसियाबाट भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स छन् भने पश्चिम एसियाली क्षेत्रबाट साउदी अरब, युएई, कुवेत, बहराईन, यमन र ओमान रहेका छन् । साउदी अरबको जेद्दाहमा बिहीबार एक कार्यक्रमकाबीच गठन गरिएको स्वाफमा साउथ एसियन फुटबल फेडरेशन (साफ)का अध्यक्ष काजी सलाहउद्दिन पनि उपस्थित थिए ।

स्वाफमा नेपाल र भुटानलाई मात्र समावेश नगरिनुलाई आश्चर्य मानिएको छ । साथै यसले साफ च्याम्पियनसिपलाई पनि असर पुग्न सक्ने अनुमान गर्न थालिएको छ । त्यस्तै पश्चिम एसियातर्फबाट जोर्डन, प्यालेस्टाईन, सिरिया, लेबनान, कतार जस्ता देशलाई पनि समावेश गरिएको छैन । स्रोतअनुसार वेस्ट एसियन फुटबल फेडरेशन (वाफ) तथा जोर्डन फुटबलका अध्यक्ष अलि बिन अल हुसेनले वाफको मुख्यालय साउदी अरबमा सार्न अस्वीकार गरेपछि स्वाफको गठन गरिएको हो ।