मोराटा युभेन्टसमै रहने पक्का

एट्लेटिको मड्रिडबाट हाल युभेन्टसमा लोनमा रहेका स्पेनिश खेलाडी एल्भारो मोराटा थप एक सिजन युभेन्टसमा बस्ने भएका छन्। रिपोर्टका अनुसार मोराटा १० मिलियन युरोमा थप एक सिजन युभेन्टसकै जर्सीमा खेल्ने भएका हुन्।

मोराटा एक सिजन अघी एट्लेटिको मड्रिडबाट युभेन्टसमा लोनमा आएका थिए। रिपोर्टका अनुसार युभेन्टसका नवनियुक्त प्रशिक्षक मासिमिलियानो अलेग्री उनलाई युभेन्टसमा नै राख्न इच्छुक छन्। युभेन्टस हाल आर्थिक समस्यामा रहेको कारण केहि कम रकममा मोराटालाई राख्न चाहेता पनि एट्लेटिको मड्रिडले १० मिलियन युरो भन्दा कम रकममा नमानेपछि युभेन्टस उनलाई थप एक सिजन राख्न १० मिलियन युरो तिर्न बाध्य भएको हो।

२८ वर्षका स्पेनिश खेलाडी मोराटाले यो सिजन युभेन्टसका लागि ४४ खेलमा २० गोल गरि सकेका छन्। मोराटाले यस अघी रियल मड्रिड, चेल्सी जस्ता क्लबका लागि खेली सकेका छन्। २०१४ मा उनी २० मिलियन युरोमा रियल मड्रिडबाट युभेन्टसमा ५ वर्षका लागि अनुबन्धित भएता पनि २०१६ मा रियल मड्रिडले उनलाई पुनः ३० मिलियन युरोमा फर्काएको थियो।