“रियल मेड्रिड दुनियाँ कै उत्कृष्ट क्लब”-: मेसी

बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार लियोनल मेसीले आफ्नो चिरप्रतिद्वन्द्वी क्लब रियल मेड्रिडलाई दुनिया कै उत्कृष्ट क्लब रहेको बताएका छन् । साथै उनका अनुसार दुनियाको कुनै पनि क्लबले आफ्नो खराब प्रदर्शनका बावजुद रियलले जस्तो सफलता हासिल गर्न नसक्ने बताएका छन् ।

स्मरणीय छ कि यसपटक नकआउट चरणमा पेरिस सेन्ट जर्मेन, युभेन्ट्स र बायर्न म्युनिख जस्ता बलिया क्लबहरुलाई हराउँदै रियल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । फाइनलमा रियलले इङलिस प्रतिद्वन्द्वी लिभरपुलको सामना गर्नेछ ।

चर्चित वेबसाईट इएसपिएनका अनुसार शुरुवातमा बार्सिलोनालाई पनि च्याम्पियन्स लिगको दावेदार मानिएको थियो । तर रोमासँग अप्रत्याशित अवे हारसँगै बार्साको युरोपियन यात्रा सकिएको थियो ।

टिवाईसी स्पोर्टस्सँग कुरा गर्दै मेसीले भनेका छन् “रियलसँग दुनियाँ कै उत्कृष्ट खेलाडीहरु छ । बार्सासँग पनि राम्रो खेलाडीहरु छन् । तर रियलसँग यस्ता केही खेलाडीहरु छन् जो उनीहरुसँग मात्र छन् । उनीहरु खराब खेल्छन र पनि नतिजा हात पार्छन् । हामीलाई जित हात पार्न अझै उत्कृष्ट खेल्नुपर्छ ।

च्याम्पियन्स लिगमा हार्नु एउटा गल्ती थियो । रोमाविरुद्ध दोस्रो लेग अघि हामीलाई ४–१ को फाईदा थियो । हामीलाई सेमिफाइनलमा पुग्नुपर्ने थियो । तर त्यो हुन सकेन । च्याम्पियन्स लिगबाट बाहिरिनु हाम्रो लागि निराशाजनक थियो । म हरेक बर्ष च्याम्पियन्स लिग जित्न चाहन्छु । हरेक बर्ष लिग च्याम्पियन बन्न चाहन्छु । यो हामी सबैको चाहना पनि हो ।”

स्मरणीय छ यस सिजन बार्सिलोनाले ला लिगा उपाधि र प्रतिष्ठित कोपा डेल रे उपाधि जितिसकेको छ ।