विश्वकपका लागि जर्मन गोलरक्षक म्यानुएल नोयर फिट हुने अझै सम्म निश्चित छैन

बायर्न म्युनिख तथा जर्मनी राष्ट्रिय फुटबल टोलीका गोलरक्षक म्यानुएल नोयर चोटका कारण ७ महिनादेखि मैदानबाहिर छन् । गत सेप्टेम्बर महिनामा खुट्टामा चोट बोकेपछि विश्राममा रहेका नोयरले विश्वकपमा भने पुनरागमन गर्ने आशा गरिएको थियो । तर अझैसम्म बायर्नका लागि पुनरागमन नगरेका नोयरले विश्वकप खेल्न थप संघर्ष गर्नुपर्ने देखिएको छ ।

नोयरको अनुपस्थितिमा बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडसँग समग्रमा ४-३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उनको स्थानमा खेलिरहेका गोलरक्षक स्वेन अलरीचले गम्भीर गल्ति गर्नु नै खेलको टर्निङ पोइन्ट रहेको थियो । खेल बराबरीमा रहेको अवस्थामा उनको गल्तीमा करीम बेन्जेमाले गोल गर्दै खेलमा रियललाई अग्रता दिलाएका थिए । त्यसपछि बायर्नले गोल फर्काएपनि नतिजा उल्टाउन सकेन ।

बायर्नका अध्यक्ष कार्ल हाईन्ज रुमिनेजले नोयरको पुनरागमनको लागि योजना तयार भएपनि यकिन मिति भन्न नसकिने बताए । ‘म यकिन मिति भन्न सक्दिन तर प्रशिक्षक हाइन्कस र नोयरले योजना बनाइरहेका छन् । म् हस्तक्षेप गर्ने पक्षमा छैन । उनले लगातार आफ्नो फिटनेस सुधार गरिरहेको सूचना पाएको छु र आशा गरौं उनि छिट्टै मैदानमा फर्कने छन्,’ अध्यक्ष रुमिनेजेले भने ।

बुन्डेसलिगामा अझै दुई चरणका खेल बाँकी रहेको अवस्थामा बायर्नले नोयरलाई मैदानमा उतार्ने सम्भावना रहेको छ । विगत केहि सातादेखि प्रशिक्षणमा फर्किएका नोयरले अभ्यास खेलमा समय बिताएपनि शत प्रतिशत फिट भने नभएको जानकारी क्लबले दिएको छ । उनले आगामी दुई खेलमा भने खेल्न सक्नेछन् ।

जर्मनीको राष्ट्रिय टोलीको प्रारम्भिक नामावली मे १५ तारिखमा सार्वजनिक हुने कार्यक्रम छ । राष्ट्रिय टोलीका प्रशिक्षक जोकिम लोले पनि नोयरको फिटनेसलाई लिएर केहि आशा देखेका छन् । उनले नोयरलाई प्रारम्भिक छनोटमा संलग्न गरेर प्रशिक्षणमा उनको प्रदर्शन हेर्ने बताए । चोट बोक्नुअघि नोयर क्लब र राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक थिए । उनको अनुपस्थितिमा बार्सिलोनाका मार्क आन्देर टेर स्टेगनले गोलरक्षकको भूमिका निर्वाह गर्दै आएका छन् ।