कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाइ २-१ ले पराजित गर्दै निरन्तर शीर्ष स्थानमा रहेको छ।
आर्मीको जितमा दुवै गोल सन्तोषले गरे भने एपीएफका आशिष लामाले एक गोल गरे।
खेलको १६ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन् ।
कप्तान भरत खवासलाई डिबक्स भित्र एपीएफका डिफेन्डर रमेश दंगालले लडाएपछी आर्मीले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा सन्तोषको प्रहार एपीएफका गोलरक्षक राजु योगीले रोकेपनी रिबाउन्डमा सन्तोष गोल गर्न सफल भए।
खेलको ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याए।
तर, खेलको ४२ औं मिनेटमा सन्तोषले दोस्रो गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए। एपीएफका गोलरक्षक राजुले डिबक्स बाहिर आएर बल छोएपछी पाएको फ्रिकिकमा सन्तोषले उत्कृष्ट गोल गरे ।
पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले सरस्वती युथ क्लबलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो।
मछिन्द्रको लागि दिपक राईले दुई गोल, देवेन्द्र तामाङ, एडिलाजा सोमिडे, आन्द्रेस निया र विशाल राई ‘ए’ ले एक एक गोल गरे।
सरस्वतीका लागि काजिम बुसारीले एक गोल गरे।