इनियस्टा बार्सिलोना छोड्ने तयारी गर्दै!

बार्सिलोनाका चर्चित मिडफिल्डर आन्द्रे इनियस्टा क्लब छोड्ने घोषणाको अत्यन्त निकट रहेको बताइएको छ । सेभिल्लाविरुद्ध गए राती कोपा डेल रेको फाइनल खेलेका इनियस्टाको लागि बार्सिलोनामा त्यो नै अन्तिम फाइनलका रुपमा समेत हरिएको थियो ।

५–० ले जितेको त्यो खेलमा इनियस्टाले एक गोल गर्नुका साथै म्यान अफ दी म्याच प्रदर्शन गरेका थिए । क्लब छाड्ने इनियस्टाको निर्णयलाई उनका पिताले पनि सहि समयमा लिएको उचित कदम भनेका छन् ।

इनियस्टाले केहि दिनमा औपचारिक निर्णय सार्वजनिक गर्ने विश्वास गरिएको छ । उनका पिता जोस एन्टोनियले सहि समयमा आफनो छोराले क्लब छाड्न लागेको बताए ।कोपा डेल रेको फाइनलपछि समर्थकले उठेर ताली बजाउँदै उनीप्रति उच्च सम्मान देखाएका थिए ।

‘उनी फरक निर्णय गर्ने तयारीमा छन्,’ इनियस्टाका पिताले अन्तवार्ताका क्रममा भनेका छन्,‘यदि उनले छाड्ने बाटो रोजेका छन् भने त्यसको सम्मान हुनुपर्दछ । मलाई लाग्छ यो उनका लागि सहि समय हो । यद्दपी यो आफैमा सहज काम होइन । उनले अर्को साता सम्म आफ्नो निर्णय सार्वजनिक गर्नेछन् ।’

उनले छोराको प्रदर्शनको पनि तारिफ गरे । ‘ उनले फाइनलमा पहिलो गोल गरे । उनका लागि यो राम्रो हो,’ उनले थपे,‘अब खेल सकिएको छ । म एकदम खुसी छु । उनले राम्रो गरेका छन् । उनले आफ्नो शैलीमा खेले ।’

ला लिगाको अफिसियल इन्स्टाग्राम ह्यान्डलबाट पनि इनियस्टाले क्लब छोड्ने पक्का भएको उल्लेख गरेको छ । इनियस्टा आफैले पनि बार्सिलोनामा यो अन्तिम हुन सक्ने बताउँदै आएका छन् । विश्व कप विजेता समेत रहेका इनियस्टा चिनिया सुपर लिग टोली चोङक्विङ लिफानमा आबद्ध हुने सम्भावना रहेको बताइएको छ ।