म्यान्चेस्टर युनाइटेडले शीर्ष चारमा आफ्नो स्थान बनाउन सक्ला?

एजेन्सी – इंग्लिस प्रिमियर लिग विश्व फुटबलको घरेलु लिगमा सबैभन्दा लोकप्रिय र चर्चित लिग हो । उत्कृष्ट खेलाडीको साथ र जुन टोलीले पनि जुनसुकै टोलीलाई पराजित गर्न सक्ने भएकाले अन्य लिगभन्दा यो लिगलाई बढी रुचाइने लिग बनेको हो ।

यो सिजन मर्सिसाइड क्लब लिभरपुलले ७ खेल बाँकी रहँदै फराकिलो अग्रतासहित एकपक्षीय रुपमा उपाधि जितिसकेको छ । तर, शीर्ष चार र रेलिगेसनमा भने अझै कडा प्रतिस्पर्धा छ ।

लिगमा शीर्ष चारमा रहने टोलीले सोझै युइएफए च्याम्पियन्स लिग खेल्न पाउने भएका कारण प्रतिस्पर्धा चुलिदो देखिन्छ । बिहीबार प्रिमियर लिगको ३४औं चरणको खेल सकिएको छ । लिभरपुलले ७ खेल अगावै लिग जितेर अर्को सिजनको लागि च्याम्पियन्स लिगमा स्थान बनाइसकेको छ ।

म्यानचेस्टर सिटीले यो सिजन दोस्रो स्थान हासिल गर्ने पक्का छ । २६ जुनमा चेल्सीले म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गरेपछि लिभरपुलले ३० वर्षपछि उपाधि जित्न सफल भएको थियो ।

चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच शीर्ष चारमा पर्न बढी प्रतिस्पर्धा देखिएको छ । तेस्रो, चौथो र पाँचौ स्थानको टोलीबीच मात्रै एक-एक अंकको फरक छ । तेस्रो स्थानको चेल्सीको ६०, लेस्टर सिटीको ५९ र म्यानचेस्टर युनाइटेडको ५८ अंक रहेको छ । अब चार चरणको खेल बाँकी रहँदा कुनै पनि टोलीले अंक गुमाएको खण्डमा शीर्ष चारमा स्थान गुमाउन सक्नेछ ।

३३औं चरणसम्म तेस्रो स्थानमा रहेको लेस्टर सिटी ३४औं चरणमा चौथो स्थानमा झरेको छ । चेल्सीले क्रिस्टल प्यालेसमाथि जित तथा आर्सनलसँग अंक गुमाएपछि लेस्टर चौथो स्थानमा झरेको हो । शीर्ष चारको लागि म्यान्चेस्टर युनाइटेडले पनि भरमग्दुर प्रयास गरिरहेको छ । आफ्नो पुरानो लयमा फर्किएको म्यानचेस्टर युनाइटेड पछिल्ला १७ खेलमा अपराजित छ । १७ मध्ये १३ खेलमा जित र ४ बराबरीको नतिजा छ ।

 

शीर्ष चारमा रहन चेल्सी र लेस्टर सिटीले बाँकी रहेको खेलमा अंक गुमाउनु हुदैन । अन्य टोलीको प्रदर्शनमा पनि भर पर्नुपर्नेहुन्छ । यदि कुनै खेलमा अंक जोड्न नसकेमा पहिलो चारमा टिक्न निकै कठिन हुने छ । यसको फाइदा युनाइटेडसँगै अन्य टोलीलाई पनि हुनेछ ।

कोरोना माहामारी पछि पुनः खेल सुचारु भएपछि लेस्टर सिटीले आफ्नो लय समात्न सकेको छैन । बाँकी रहेको खेलमा आफ्नो गल्ती नसुधारेमा लेस्टरमालई शीर्ष चारमा पर्न कसठन हुने देखिन्छ ।

यस्तै चेल्सीले पनि आफ्नो रक्षापङ्तिमा गल्ती गरिरहे उसलाई पनि शीर्ष चारको सम्भावना गाह्रो हुनेछ । के चेल्सी र लेस्टर सिटीले आफ्नो स्थान जोगाउन सक्ला ? या यी दुई मध्ये एकलाई पछि पार्दै म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा स्थान बनाउन सक्ला ? प्रतिक्रिया दिनुहोस !