€८० मिलियन तिरेर पिएसजी स्टार डिफेन्डर साइन गर्न नजिक

फ्रेन्च क्लब पिएसजी इन्टर मिलानका स्टार राइट ब्याक अच्राफ हाकिमी साइन गर्न नजिक रहेको खबर छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार पिएसजी €८० मिलियन तिरेर स्टार डिफेन्डर साइन गर्न नजिक रहेको छ।

भर्खरै सिरी ए जितेका इन्टर मिलान पनि उनको बिक्रीको लागि खुला हुने खबर रहेको बेला हाकिमीको लागि पिएसजीले €८० मिलियनको प्रस्ताव गरेको जानकारी छ। खबर अनुसार उनको लागि पिएसजीले थप बोनसको प्रस्ताव गर्ने पनि योजना बनाएको छ।

प्रिमियर लिग क्लब चेल्सी पनि उनलाई साइन गर्न इच्छुक रहेको चर्चा छ तर चेल्सीले अहिले सम्म कुनै आधिकारिक प्रस्ताव नपठाएको खुलेको छ। चेल्सी र हाकिमीको एजेन्ट बिच वार्ता भने भएको जानकारी छ।

हाकिमी रियाल म्याड्रिडका युवा एकेडेमी आएका थिए र २०१७मा उनी रियलको पहिलो टिम सेटअपमा प्रवेश गरे। यद्यपि, रियलमा डेनि कारभाहाल पहिलो रोजाई रहेको कारण उनी २ वर्षको लागि डार्टमन्डमा लोनमा गए। जर्मनीमा उनको खेल निकै राम्रो रहेको थियो भने २०२०मा २२ वर्षका फुल ब्याक इन्टरमा गए।

इन्टरमा पनि उनको निकै राम्रो खेल रह्यो भने इन्टर सँग उनले हाल लिग जितेका छन्। ४४ खेलमा उनले ७ गोल र १० असिस्ट गरेका छन्।