ड्यानी अाल्भेसले विश्वकप गुमाउने

ब्राजिलको राष्ट्रिय फुटबल टोलीका सदस्य एवं पेरिस सेन्ट जर्मनका राइट ब्याक ड्यानी अाल्भेसले चोटका कारण म विश्वकप गुमाउने भएका छन् । घुँडाको चोट बोकेका अाल्भेसले लिगको अन्तिम चरण खेल्न नसकेपनि विश्वकपमा ठिक हुने सम्भावना रहेको थियो ।

ब्राजिलको राष्ट्रिय टोलीबाट झण्डै एक दशकदेखि नियमित खेल्दै अाइरहेका अाल्भेसको अनुपस्थितिले टोलीलाई ठूलो घाटा पुगेको छ । उनले विश्वकपमा ब्राजिलका लागि सुरुवाती रोजाइबाट खेल्ने लगभग तय थियो । ३५ वर्षीय आल्भेसले देशका लागि हालसम्म १ सय ७ खेल खेलिसकेका छन् ।

फ्रेन्च कपको फाइनलदौरान चोट बोकेका आल्भेसको चोट सामान्य भनेपनि स्क्यान गरेपछि उनको एसीएलको शल्यक्रिया गर्नुपर्ने भएको हो । ब्राजिलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आल्भेसले शुक्रबार थप स्क्यान गरेपछि उनको एसीएलमा चोट पुगेको थाहा भएको छ । अब उनले शल्यक्रिया गरेर चोटको उपचार गर्नेछन् । ब्राजिलको प्राविधिक टोली उनलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

ब्राजिलले जुन तेस्रो साताबाट सुरु हुने विश्वकपको पहिलो खेलमा स्विटजरल्यान्डको सामना गर्नेछ । आल्भेसले नखेल्ने पक्का भएसँगै उनको स्थानमा को खेल्ने भन्ने उत्सुकताको विषय बनेको छ । ब्राजिलले उनको स्थानमा म्यानचेस्टर सिटीका ड्यानिलो, बायर्न म्युनिखका राफिन्हा, युभेन्टसका एलेक्स स्यान्ड्रो र कोरिन्थियन्सका फाग्नर लेमोस मध्ये एकजनालाई उतार्ने सम्भावना प्रवल छ ।