बार्सिलोनाबाट लोनमा टर्की पुगेका तुरानले रेफरीलाइ आक्रमण गर्दा १६ खेलको प्रतिबन्ध (भिडियोसहित)

स्पेनीस जायन्ट बार्सिलोनाबाट लोनमा टर्किस क्लब इस्तानबुल बसकसेहिरबाट खेलिरहेका चर्चित टर्किस आक्रमक मिडफिल्डर अर्दा तुरानलाई १६ खेलको प्रतिबन्ध लगाइएको छ ।

गत साता टर्कीको सुपर लिगमा बसकसेहिरले सिभासपोरविरुद्धको खेलमा १–१ बराबरी खेलेपश्चात ३१ बर्षिय तुरानले सहायक रेफ्रीलाई दुवै हातले धकेल्दै विवाद गरेका थिए । खेलमा तुरानको टोली बसकसेहिरले १–० को अग्रता लिईरहेको थियो । यद्यपि पछि ९ खेलाडीमा सिमित हुन पुगेको बसकसेहिरले बराबरी गोल खान पुगेको थियो ।

खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टी पोख्दै रेफ्रीलाई दुवै हातले धकेलेपछि तुरानलाई सिधै रातो कार्ड देखाइएको थियो । त्यसपछि पनि उनले विवाद गर्न नछोडेको चर्चित साईट बीबीसीले जनाएको छ । टर्कीको राष्ट्रिय टोलीबाट १०० क्याप समेत जितेका तुरानलाई ३९ हजार टर्किस लिरा जरिवाना समेत गरिएको छ ।

सहायक रेफ्रीलाई हातपात गरेकोमा उनलाई १० खेलको प्रतिबन्ध लगाइएको छ भने रेफ्रीलाई अपशब्द प्रयोग गरेकोमा ३ खेल तथा धमकी दिइएकोमा ३ खेल गरी कुल १६ खेलको प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्धसँगै तुरानले आगामी सिजनतर्फ करिब आधा सिजनको खेलहरु मिस गर्नेछन् ।