जर्मनीले हंगेरीसंग अंक बाडे

एजेन्सी, जर्मनी समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।

रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने हंगेरीले बनाएको थियो ।

खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले रोलान्डको पासमा उत्कृष्ट हेडर गोल गरे ।

खेलको २१ औं मिनेटमा माट हुमेल्सको हेडर क्रसबारमा लागेर फर्किएको थियो।

खेलको ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए । उनले हुमेल्सको पासमा गोल गरे ।

लगत्तै ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २-१ को अग्रता दिलाए  ।

तर, खेलको ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा फर्काउदै हारबाट जोगाए ।

यस बराबरीसँगै समूह ‘एफ’ को उपविजेता बनेको जर्मनी ३ खेलमा ५ अंक जोड्यो ।

यस अघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

अब जर्मनीले अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्ने छ ।

हंगेरी भने समूह चरणबाट बाहिरिएको छ । हंगेरीले ३ खेलमा २ अंक जोड्यो ।

पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित हंगेरीले दोस्रो खेलमा फ्रान्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।