नेपाल पुलिसको महत्त्वपूर्ण जित

कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।

बुधबार भएको खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन सुमन लामाले एक गोल गरे। यस्तै पुलिसले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

संकटाका अमित तामाङले एक गोल फर्काए ।

खेलको १५ औं मिनेटमा संकटाका डिफेन्डर अमितले आत्मघाती गोल गर्दा पुलिसले अग्रता बनाएको थियो । पुलिसका सुमनको प्रहार अमितलाई लाग्दै गोल भएको थियो ।

खेलको १८ औं मिनेटमा अमितले नै पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए । पुलिसका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछी संकटाले पेनाल्टी पाएको थियो ।

तर, खेलको ३३ औं मिनेटमा सौजन राईको पासमा सुमनले गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए ।

जितसँगै पुलिसले ४ खेलमा ७ अंक जोडेको छ । र, पुलिस लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

संकटाले ४ खेलमा ४ अंक जोडेको छ । संकटा लिगको दशौँ स्थानमा छ ।