सालाह चंम्किदा लिभरपुलको जित

एजेन्सी, मोहम्मद सालाहले लिभरपुलका लागि लगातार नवौं खेलमा गोल गर्दै अर्को इतिहास लेखेको दिन लिभरपुलले च्याम्पियन्स लिग समूह ‘बी’को नाटकीय खेलमा १० खेलाडीमा सीमित भएर मैदान छोडेको एट्लेटिको मड्रिडमाथि ३-२ को जित हासिल गरेको छ । 

घरेलु मैदानमा एट्लेटिकोका लागि दुई गोल गरेका एन्टोनी ग्रिजम्यानले ५२औं मिनेटमा सोझै रातो कार्ड सामना गरेपछि एट्लेटिकोले बाँकी समय १० खेलाडीमा सीमित भएर संघर्ष गर्नुपरेको थियो । 

यसअघि आठौं मिनेटमा मोहम्मद सालाहले उच्च फर्मको निरन्तरता दिँदै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नाबी केइटाले अर्को गोल गरेपििछ वान्डा मेट्रोपोलिटानोमा लिभरपुलले खेल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएको थियो । 

तर ग्रिजम्यानले दुई गोल गरेपछि मध्यान्तरअघि नै एट्लेटिको खेलमा फर्कियो । कोकेको पासमा २०औं मिनेटमा पहिलो गोल गरेका ग्रिजम्यानले जोआवो फेलिक्सको पासलाई गोलमा परिणत गर्दै ३४औं मिनेटमा एट्लेटिकोलाई बराबरीमा ल्याएका थिए । 

दोस्रो हाफको सुरुमै ग्रिजम्यानको रातो कार्डसँगै एट्लेटिकोको टोलीमा एक खेलाडी कम भएपछि लिभरपुलले त्यसको फाइदा उठायो । तथापि गोलका लागि संघर्ष गरिरहेको भ्रमणकारी टोलीका लागि समय सकिन १२ मिनेट बाँकी रहँदा सालाहले पेनाल्टीमार्फत विजयी गोल गरे । जारी सिजनको च्याम्पियन्स लिगमा लिभरपुलको यो तीन खेलमा तेस्रो जित हो ।

एट्लेटिकोका मारियो हेर्मोसोले डियोगो जोटालाई धकेलेवापत प्राप्त पेनाल्टीमा सालाहले खेलको दोस्रो व्यक्तिगत गोल गरेका थिए ।

सोही समूहको अर्को खेलमा मंगलबार राति एफसी पोर्टोले एसी मिलानमाथि १-० को जित हासिल गर्‍यो । 

पोर्टोलाई घरेलु मैदानमा जित दिलाउन लुइस डियाजको एउटै गोल पर्याप्त भयो । डियाजले ६५औं मिनेटमा मेहदी टारेमीको पासलाई गोलको दिशा दिलाएका थिए । 

मंगलबार रातिका नतिजापछि तीन खेलमा नौं अंक जोडेको लिभरपुल समूहको शीर्ष स्थानमा रहँदा समान चार अंक जोडेका एट्लेटिको र पोर्टो दोस्रो र तेस्रो स्थानमा छन् । मिलानले अंकको खाता खोल्न सकेको छैन ।