पीएसजीलाई हराउदै म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा

म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरेको हो ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई दोस्रो लेगको खेलमा २–० ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित सिटी फाईनल पुगेको हो ।

दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल गरे ।

खेलको ११ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजको सिटीको जित सुनिश्चित गरे ।

पीएसजीले १० खेलाडीमा सिमिति रहदै खेलको अन्त्य गरेको थियो । एन्जल डी मारिया रातो कार्ड खादै मैदान बाहिरिएपछि लिग वान क्लब १० खेलाडीमा सिमित बनेको थियो ।

पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो ।

सिटी पछिल्लो तीन सिजन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा पराजित हुदै आएको थियो । सिटीले सन् २०१६ मा सेमिफाईनल खेलेको थियो ।

सिटीले राम्रो डिफेन्सिभ खेल प्रस्तुत गर्दा यस सिजन मौरिसियो पोचिटिनो नेतृत्वको पीएसजीलाई सेमिफाईनलबाटै घर फर्काएको छ ।

प्रिमियर लिग फुटबलको उपाधिको नजिक रहेको सिटीले कारबाओ कपको उपाधि उचालिसकेको छ । च्याम्पियन्स लिगको उपाधिले सिटीलाई एकै वर्ष तेहरो उपाधिको उपलब्धि दिन सक्नेछ ।

सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र रियल मड्रिडले पहिलो लेग १–१ गोलको बराबरीमा खेलेका छन् । दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।

फाईनल खेल टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ ।