खेलाडी भित्र्याउने दौडमा लिभरपुल डोर्ट्मण्डसँग पराजित

एजेन्सी, डच क्लब पि.एस.भिका खेलाडी डनयेल मालेन भित्र्याउने दौडमा इङलिस क्लब लिभरपुल जर्मन क्लब बोरुसिया डोर्ट्मण्डसँग पराजित भएका छन्। रिपोर्टका अनुसार डोर्ट्मण्ड मालेन भित्र्याउने अन्तिम चरणमा छन्।

२२ वर्षका डच स्ट्राइकर मालेनको मूल्य करिब ३० मिलियन युरो रहेको भनिएको छ। हालै डोर्ट्मण्डका खेलाडी जेडन सान्चो करिब ७३ मिलियन पाउन्डमा अर्का इङलिस क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। यसै कारणले डोर्ट्मण्डले उनलाई सान्चोलाई प्रतिस्थापन गर्नका निम्ति भित्र्याउन खोजेको देखिएको छ।
मालेनले पि.एस.भिका लागि ११६ खेलमा ५५ गोल गरि सकेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि १३ खेलमा २ गोल गरि सकेका छन्। उनी २०१७ मा अर्का इङलिस क्लब आर्सनलबाट पि.एस.भिमा अनुबन्ध भएका थिए।