इग्ल्यान्डसामु भारत स्तब्ध

एजेन्सी, घरेलु टोली भारतले इंग्ल्यान्ड विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा आठ विकेटको लज्जास्पद हारको सामना गरेको छ । आजको खेलमा जित दर्ता गराए पछि पाहुना टोली इंग्ल्यान्डले पाँच खेलको शृंखलामा १-० को अग्रता पनि लिन सफल भएको छ ।

खेलमा टस जितेर भारतलाई पहिले ब्याटिङ गर्न लगाएको इंग्ल्यान्डले १२४ रनमा रोक्यो भने १५ दशमलब तीन ओभर खेल्दै दुई विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

इंग्ल्यान्डको जितमा ओपनरद्वय जेसन रोयले ३२ बलमा ४९ तथा जस बटलरले २४ बलमा २८ रनको पारी खेले भने डाविद मालान र जोनी बैरस्टोले अविजित रहँदै क्रमश २० बलमा २४ तथा १७ बलमा २६ रन प्रहार गरे ।

भारतको तर्फबाट श्रेयस ऐयरले सर्वाधिक ६७ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् । ४८ बलको सामना गरेका उनले आठ चौका र एक छक्का प्रहार गरे ।

भारतका ओपनरद्वय शिखर धवन चार तथा केएल राहुल एक रनमा आउट भए भने कप्तान बिराट कोहलीले रनको खाता पनि खोल्न भ्याएनन् । पाँच बल खेलेका कोहली आदिल रशिदको शिकार हुन पुगे । इंग्ल्यान्ड विरुद्धको जारी टुरमा कोहलीको यो तेश्रो डक आउट हो । यस अघि उनी दोश्रो तथा तेश्रो टेस्टमा पनि डक आउट हुन पुगेका थिए ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर रिशब पन्त २१, हार्दिक पाण्ड्या १९ र शार्दुल ठाकुर गोल्डेन डक-आउट भए भने वाशिंगटन सुन्दर तीन तथा अक्सर पटेल सात रनमा अविजित रहे ।

भारतलाई सास्तैमा समेट्ने क्रममा इंग्ल्यान्डका जोफ्रा आर्चरले सर्वाधिक तीन विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले एक मेडन ओभर सहित कुल २३ रन खर्चिए ।