९ खेलाडीमा सिमित पीएसजीको च्याम्पियन्स लिगमा अर्को हार

च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन जर्मन क्लब आरबी लाइप्जिगसँग पराजित भएको छ ।

९ खेलाडीमा समेटिएको पीएसजी लाइप्जिगसँग २–१ ले पराजित भएको हो । लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुुकु र इमिल फोर्सवर्गले गोल गरे । पीएसजीका एन्जल डि मारियाले गरेको गोल सान्वना बन्यो ।

डि मारियाकै गोलबाट पीएसजीले खेलमा सुरुवाती अग्रता लिएको थियो । उनले छैटौं मिनेटमा मोइस किनको पासमा गोल गरेका थिए । डि मारियाले नै १६औं मिनेटमा पेनाल्टी चुकाएका थिए । मोइस किनलाई लडाएपछि प्राप्त पेनाल्टीमा डि मारियाको प्रहार लाइप्जिगका गोलरक्षक पिटर गुलाक्सीले विफल पारेका थिए ।

४२औं मिनेटमा क्रिस्टोफोर एनकुुकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले एन्जेलिनोको पासमा गोल गर्न सफल भएका थिए । ५७औं मिनेटमा इमिल फोर्सवर्गले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।

प्रेसनेल केम्पेम्वेले पेनाल्टी बक्समा फोर्सवर्गलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै लाइप्जिगलाई पेनाल्टी प्रदान गरेका थिए । जसमा फोर्सवर्ग चुकेनन् ।

६९औं मिनेटमा इड्रिसा गाना गुया दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिएपछि पीएसजीको खेलमा फर्कने सम्भावना सकिएको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा प्रेसनेल केम्पेम्वे पनि दोहोरो पहेँलो कार्ड खादै मैदान छाडेपछि पीएसजी ९ खेलाडीमा समेटियो ।

यो हारले साविक उपविजेता पीएसजीलाई समूह चरण पार गर्न कठिन हने देखिएको छ । हारपछि पीएसजीको ३ खेलबाट ३ अंक रहेको छ । लाइप्जिग ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि गोल अन्तरमा म्यानचेस्टर युनाईटेड शीर्षस्थानमा रहेको छ । इस्तानबुल बेसाकसेहिर ३ अंकसहित पुछारमा छ ।

यही समूह ‘एच’ को अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड इस्तानबुल बेसाकसेहिरसँग २–१ ले स्तब्ध भएको छ । इस्तानबुलका डेम्वा बा र इडिन भिस्काले गोल गर्दा एन्थोनी मार्सियलको गोल सान्त्वना बन्यो ।