७२ मिलियन पाउण्डमा किनेका निकोलस पेपे को हुन्? आर्सनलले किन् कीर्तिमानी रकममा भित्र्याए? पूरा जानकारी

इंग्लिस क्लब आर्सनलले आइभेरी कोस्टका विंगर निकोलस पेपेलाई फ्रेन्च क्लब लिलेबाट कीर्तिमानी रकममा भित्र्याएको छ। २४ वर्षका पेपेलाई आर्सनलले ७२ मिलियन पाउण्डमा किनेको हो।

कुनै समयका गोलकिपर पेपे उत्कृष्ट गोल स्कोरर बन्दासम्मको कथा रोचक छ। अहिले पाँच वर्षको सम्झौतामा आर्सनल आएका पेपेले लिलेका लागि ७४ खेलमा ३५ गोल गरेका छन्। ‘यहाँ आउन पाउँदा निकै भावुक भइरहेको छु’ पेपेले भनेका छन्, ‘म धेरै दुःख गरेर लामो बाटो तय गर्दै फुटबलमा अघि बढेको हुँ, त्यसैले आर्सनलसम्म आइपुग्नु मेरा लागि ठूलो पुरस्कार हो।’

आर्सनलले अहिलेसम्म सबैभन्दा बढी खर्च गरेको खेलाडी हुन् पेपे। साथै प्रिमियर लिग इतिहासमा उनी सबैभन्दा महँगा खेलाडीको सूचीमा चौथो नम्बरमा छन् । उनीभन्दा अघि म्यानचेस्टर युनाइटेडका पोउल पोग्वा (८९ मिलियन पाउण्ड), रोमेलु लुकाकु (७५ मिलियन पाउण्ड) र लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक (७५ मिलियन पाउण्ड) रहेका छन्।

पेपेले अगाडि भनेका छन्, ‘यो समय सही निर्णय लिनु आवश्यक हुन्छ, आर्सनलले ममाथि विश्वास गरेजसरी नै यो मेरो सही निर्णय भएको छ।’

आर्सनलमा १९ नम्बर जर्सीमा खेल्ने तयारीमा रहेका पेपे गएको सिजन खुबै चलेका थिए। उनले २२ गोल र ११ असिस्ट गरेका थिए। लिगमा गोल र असिस्टलाई हेर्ने हो भने उनीभन्दा अघि पीएसजीका केलियन एमबाप्पे मात्रै रहेका थिए।

‘युरोपका ठूला भनिएका क्लबहरु पेपेलाई ल्याउन चाहन्थे, उनी उत्कृष्ट खेलाडी हुन्’ आर्सनल प्रशिक्षक युनाई इमेरीले भनेका छन्, ‘विश्वस्तरीय खेलाडीलाई ल्याउनु चानचुने कुरा होइन, हाम्रो मुख्य योजना नै त्यही थियो। उनको आगमनले म खुशी छु। उनले टिममा तीब्रता र रचनात्मकता ल्याउने छन्।’

पेपेको युवा समय सोलिटायर पेरिस इस्ट र पोइटायर्समा फुटबल सिकेर बितेको थियो। उनले सिनियर फुटबल पनि २०१२ मा पोइटायर्सबाट नै सुरु गरे। त्यहाँबाट २०१३ मा एन्जर स्पोर्टिङ क्लबमा पुगेका पेपे बीचमा एक सिजन ओर्लियन्समा लोनमा गएर २०१७ मा लिले पुगेका हुन्।

फुटबलको माहोल भएकै फ्रान्स पेरिस सहर नजिकै जन्मिए पनि पेपेको फुटबल सानो बेला सोचेजसरी अगाडि बढ्न सकेको थिएन। जेलमा सुरक्षा गार्ड रहेका उनका बुबा सेलेस्टिनले उनको फुटबल करिअर अगाडि बढाउन सहयोग गरेका थिए।

त्यसपछि नै पेपेले आफ्नो फुटबल कला गोल रोक्नमा नभई गोल गर्नमा भएको बुझ्न पाए। तीब्रताका कारण काउन्टर अट्याकमा उत्कृष्ट रहेका पेपे बीचबाट बल बढाउन पनि सिपालु छन् । यसैले फ्रान्समा हराइरहेका पेपेलाई आइभेरी कोस्टले लगेर २०१६ मा राष्ट्रिय टिमबाटै डेब्यू गराएको थियो । गएको अफ्रिका कप अफ नेसन्समा उत्कृष्ट प्रदर्शन नभए पनि आउने दिनलाई लिएर पेपेमाथिको आश ठूलो छ।

-नेपाललाईव