४०० मिलियन युरोको प्रस्ताव अस्वीकार गर्दै बेन्जेमा रियलमै खेल्ने

फ्रेन्च स्टार स्ट्राइकर करिम बेन्जेमाले ला लिगा क्लब रियल म्याड्रिड नछोड्ने भएको छ।

बेन्जेमाको लागि साउदी अरेबियाको क्लब अल-इतिहादबाट €४०० मिलियनको प्रस्ताव आएको थियो तर उनले रियल म्याड्रिड नछोड्ने निर्णय लिने जानकारी छ।

अल-इतिहाद उनलाई दुई वर्षको सम्झौतामा साइन गर्न इच्छुक रहेको थियो भने सो दुई वर्षको सम्झौताको लागि अल-इतिहाद, बेन्जेमालाई ४०० मिलियन युरो दिन तयार रहेको थियो तर बेन्जेमा थप एक वर्ष रियल म्याड्रिडमै खेल्न इच्छुक रहेका छन् भने अर्को वर्ष पनि उनलाई साउदी अरेबियाबाट प्रस्ताव आउने खबर रहेको छ।

रियल म्याड्रिड र बेन्जेमा बिचको सम्झौता २०२४को जुन सम्म रहेको छ र हाल सम्म दुई बिच सम्झौता विस्तार नभएको बेला बेन्जेमाले क्लब छोड्न सक्ने धेरै चर्चा हुँदै गरेको थियो तर बेन्जेमाले थप एक वर्ष रियलमै खेल्ने आफ्नो इच्छा स्पष्ट गरेका छन्।

आफुले रियल म्याड्रिड छोड्ने चर्चाहरु वारे बेन्जेमाले बोल्दै भने : “मैले क्लब छोड्ने ? अहिलेको लागि म यहाँ छु। यसको वारे इन्टरनेटले कुरा गरिरहेको छ र इन्टरनेट वास्तविकता होइन।’

साउदी अरेबियाबाट आएको चासोको लागि आफु धेरै आभारी रहेका तर हाल रियल म्याड्रिड छोड्ने आफ्नो योजनामा नरहेको बेन्जेमाले स्पष्ट गरे भने रियल संगको सम्झौता २०२४मा अन्त्य भए पछि साउदी अरेबियामा खेल्ने वारे उनले विचार गर्ने सङ्केत दिए।

२००९मा रियल म्याड्रिड आएका बेन्जेमा क्लबको एक लेजेण्डको रुपमा स्थापित भएका छन्। हाल सम्म रियलको लागि उनले ६४७ खेल खेल्दै ३५३ गोल र १६५ असिस्ट गरेका छन्। रियल सँग उनले ५ पटक च्याम्पियन्स लिग जितेका छन् र उनले २०२२मा बलोन डि’ओर पनि जितेका थिए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ