३९ वर्षिय इब्राहिमोभिचको दुई गोल बाबजुद एसि मिलान जित्न असफल

सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलान बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले दुई गोल गरेपनि मिलानले जित निकाल्न सकेन ।

खेलको दोस्रो मिनेटमै इब्राहिमोविचको गोलबाट मिलानले अग्रता बनाएको थियो ।

तर, १४ औं मिनेटमा इडिन जेकोले गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४७ औं मिनेटमा एलेक्सिस सलिमाकेर्सले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए ।

७१ औं मिनेटमा जोर्डन भेरेटोउटले पेनाल्टीमा गोल गर्दै रोमालाई पुन: बराबरीमा फर्काए ।

७९ औं मिनेटमा इब्राहिमोविचले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले ३-२ को अग्रता बनायो ।

तर, खेलको ८४ औं मिनेटमा मार्श कुम्बुल्लाले गोल गर्दै रोमालाई हारबाट जोगाए ।

घरेलु मैदानमा बराबरीमा रोकिए पनि मिलान शीर्ष स्थानमा रहेको छ ।

मिलानले ५ खेलमा १३ अंक जोडेको छ । रोमा ५ खेलमा ८ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।