३४ बर्षका रोनाल्डो सिरी ‘ए’ का सबैभन्दा छिटो स्ट्राइकर

क्रिस्टियानो रोनाल्डो इटालियन सिरी ‘ए’ का सबैभन्दा दोस्रो छिटो खेलाडी बनेका छन् । अघिल्लो सिजन मात्र स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस गएका पोर्चुगलका कप्तान रोनाल्डो सिरी ‘ए’ को दोस्रो छिटो खेलाडी बनेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

इटालीको मिडिया ‘ला गजेट्टो डेल्लो स्पोर्ट्स’को रिपोर्टअनुसार सन् २०१८ मा सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टस आएका ३४ वर्षीय रोनाल्डो दोस्रो छिटो खेलाडी बनेका हुन् । युभेन्टसका स्ट्राइकर रोनाल्डो इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा छँदा सबैभन्दा छिटो खेलाडी थिए । तर, उनी अहिले पनि आफूलाई दोस्रो स्थानमा राख्न सफल छन् ।

सन् २००२ देखि २००९ सम्म प्रिमियर लिग क्लब युनाइटेडमा छँदा उनी तीब्र गतिका खेलाडी मानिन्थे । यस्तै ९ वर्ष ला लिगा क्लब रियल मड्रिड बसाइको क्रममा उनी अत्यन्तै लोकप्रिय खेलाडी बन्न सफल भएका थिए । तर, यो उमेरसम्म आइपुग्दा पनि उनी उत्तिकै कुद्नेमा कुनै दुईमत नै छैन । रोनाल्डोले सिरी ‘ए’ अन्तर्गत नापोलीविरुद्धको खेलमा १० सेकेन्डमा ९२ मिटर कुदेको एक तथ्यांकमा उल्लेख छ ।

नयाँ सिजनको दोस्रो खेलअन्तर्गतको सो खेल युभेन्टसले जितेको थियो । रोनाल्डोले पनि एक गोल गरेको उक्त खेल युभेन्टसले ४–३ गोल अन्तरले जितेको थियो । सन् २०१८–१९ को सिरी ‘ए’ र नयाँ दुवै सिजनको तथ्यांकअनुरुप गरिएको उक्त सर्वेक्षणअनुसार रोनाल्डो दोस्रो बनेका हुन् । उनीभन्दा एक स्थान माथि नापोलीका स्टार कोस्टाक मानोलास छन् ।

इटालीको मिडिया ‘ला गजेट्टो डेल्लो स्पोर्ट्स’को रिपोर्टअनुसार रोनाल्डोको गति ३४.६२ किलोमिटर प्रतिघण्टा रहेको छ । तर, उनलाई पछि पारेका कोस्टाक मानोलस २८ वर्षका छन् । मानोलसको गति ३५.४१ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।

रोमाबाट यसै सिजन नापोली आएका उनी रोनाल्डोभन्दा थोरै अगाडि छन् । रोनाल्डोभन्दा मानोलस ०.७९ किलोमिटर प्रतिघण्टाले मात्र अगाडि छन् । यस्तै तीब्र गतिका खेलाडीहरूमध्ये तेस्रो स्थानमा टोरिनोका सिमेवन जाजा रहेका छन् ।

उनको गति ३४.६२ किलोमिटर प्रतिघण्टा रहेको छ भने चौथो नम्बरमा रोमाका जियान्लुका मन्चिनी रहेका छन् । उनको गति ३४.४६ किलोमिटर प्रतिघण्टा छ भने पाँचौं स्थानमा रहेका एटलान्टाका बेराट जिमिस्टीको गति ३४.२६ रहेको छ । यस्तै छैटौं स्थानमा फियोरेन्टिनाका पोल लिरोला रहँदा सातौं स्थानमा रोमाकै खेलाडी क्लुइभर्ट छन् ।