२५ वर्षपछि पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

पेरिस सेन्ट जर्मेनको उत्कृष्ट पुनरागमन पछि बुधबार एटलान्टामाथि २–१ जित रच्दै युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। हारको निश्चित संघारमा रहेर पीएसजी जित निकाल्न सफल रहेको हो ।

 इटालीको एटलान्टाले २७ औं मिनेटमा मारियो पासालिचको गोलले अग्रता लिएको थियो । दर्शनविहीन स्टोडियो डा लुजमा मारक्विन्होसले ९० औं मिनेटमा बराबरी गोल फर्काए । इन्ज्युरी समयको तेस्रो मिनेटमा सब्टिच्युट चोउपो मोटिङ गोल गरे ।

यससँगै प्रतियोगितामा एटलान्टाको प्रभावशाली यात्रामा पनि पूर्णविराम लागेको छ भने पीएसजी २५ वर्षयता पहिलोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । फ्रान्सेली च्याम्पियन पीएसजी युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा सेमिफाइनल पुगेको यो सन् १९९५ यता पहिलो पल्ट हो । अब फाइनल प्रवेशका लागि उसले आरबी लाइपजिग र एटलेटिको म्याड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

कतारले एक दशक अगाडि पीएसजीमा स्वामित्व लिएयता क्लब क्वाटरफाइनल चरण भन्दा माथि पुगेको पनि यो पहिलो पल्ट हो ।