‘२०१८ मेरो खेल जीवनको उत्कृष्ट वर्ष’-रोनाल्डो

फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट बर्ष रहेको बताएका छन् । अघिल्लो वर्ष रियल म्याड्रिडलाई लगातार तेस्रो वर्ष च्याम्पियन्स लिग जिताउन अगुवाई निर्वाह गरेका रोनाल्डो समरमा सिरि एको सफल टोली युभेन्ट्समा आबद्ध भएका थिए ।

रियलमा नौ वर्ष सफल यात्रा तय गरेका ३३ वर्षे रोनाल्डोले क्लब छाड्ने निर्णय गर्दा धेरै आश्चार्यमा परेका थिए । रियल छाड्नु सहि निर्णय नभएको कतिपयको भनाई थियो । तर, रोनाल्डोले युभेन्ट्समा सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेका छन् ।

‘म कीर्तिमानका लागि काम गर्दिन । म क्लबको सफलताका लागि काम गर्दछु । २०१८ मेरो खेल जीवन उत्कृष्ट वर्ष हो,’ रोनाल्डोले भने, ‘स्पेनमा जस्तो गरेको थिए, इटालीमा पनि त्यस्तै बलियो सुरुवात भएको छ । तर यहाँ स्पेनमा जस्तो धेरै गोल गर्न सकिन्न । यहाँका सबै टोलीको रक्षापक्ति उत्कृष्ट छ ।’

च्याम्पियन्स लिग जित्नु सपना रहेको उल्लेख गर्दै रोनाल्डोले तर त्यसमा सफल नहुन पनि सकिने बताएका छन् । ‘टोलीका लागि उपाधि महत्वपूर्ण हुन्छ । म जितका लागि प्रयास गर्नेछु । टुरिनमा मलाई उल्लासमय वातावरणमा स्वागत गरिएको थियो,’ उनले भने, ‘म यहाँ ठिक छु । यसै गरि म वर्षौ खेल्न चाहन्छु । के म नानी जस्तै स्पोर्टिङ जान्छु होला त ? तर फुटबलमा के हुन्छ कसैलाई थाहा हुन्न ।’

रोनाल्डोले इटालीमा उत्कृष्ट ढंगको सुरुवात गरेका छन् । सबै खाले प्रतियोगितामा गरि उनले युभेन्ट्सका लागि २४ खेलमा १५ गोल गरिसकेका छन् । सिरि एमा टोली यो सिजन अपराजित रहेको छ भने च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।