२००३ मा युनाइटेडबिरुद्ध खेले पछि सयौं टोलीले इच्छा देखाएको, रोनाल्डो द्वारा खुलासा

क्रिस्टियानो रोनाल्डोले आफू इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड आउनुको कारणबारे बताएका छन् । डीएजेडएनसँगको भिडियो अन्तरवार्ताका क्रममा रोनाल्डोले पोर्चुगिज क्लब स्पोर्टिङ सीपीबाट युनाइटेड आउनुको कारणबारे बताएका हुन् ।

रोनाल्डोले सन् २००२ देखि २००३ सम्म पोर्चुगलको क्लब स्पोर्टिङ सीपीबाट खेल्दै आफ्नो व्यवसायीक खेल करिअर सुरु गरेका थिए । १८ वर्षको उमेरमा उनी त्यहाँबाट इंग्लिस क्लब युनाइटेडमा आएका थिए ।

इंग्ल्याण्ड आउनुअघि रोनाल्डोले स्पोर्टिङ सीपीबाट युनाइटेडविरुद्ध खेलेका थिए । सन् २००३ मा भएको प्रि–सिजनअन्तर्गतको उक्त खेलमा सीपीले ३–१ गोलले जितेको थियो । उनले त्यो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि युनाइटेडका तत्कालीन प्रशिक्षक सर फर्गुसनले रोनाल्डोलाई इंग्ल्याण्ड ल्याएका थिए ।

सो खेलपश्चात आफूलाई भित्र्याउन सयौं टोलीले इच्छा देखाएको बताए । उनले डीएजेडएनसँगको कुराकानीमा भनेका छन्, ‘ यो नै पहिलो खेल थियो, स्पोर्टिङको स्टेडियममा । मलाई आज पनि स्पष्ट सम्झना छ, म धेरै खुशी थिएँ । म विश्वकै उत्कृष्ट टिमविरुद्ध खेल्न गइरहेको थिएँ ।’

‘म स्पोर्टिङ एकेडेमीका आफ्ना साथीहरूलाई सम्झन्छु,’ उनले थपे, ‘जब म युनाइडेटविरुद्ध खेल्न जाँदैथिएँ, म धेरै नर्भस थिएँ । ठूला खेलमा नर्भस हुनु पनि एक फुटबलर हुनुको एउटा पार्टो हो । म सधैं नर्भस हुन्छु किनकी, म राम्रो खेल्न चाहान्छु । जब हामी नर्भस भएर ध्यान दिन्छौ तब मात्र काम राम्रो हुन्छ ।’

यस्तै रोनाल्डोले आफूले उत्कृष्ट खेलेमा धेरैले आफूप्रति इच्छा देखाउने बताउँदै उनले भने, ‘म धेरै खुशी थिएँ, यदि मैले राम्रो खेलेमा मप्रति धेरैको ध्यान जानेछ । युनाइटेड मात्र होइन अरु धेरै क्लबले मलाई हेर्नेछन् भन्ने लाग्यो । मैले सोचेँ, धेरै टिमले मलाई हेर्नेछन् र स्पोर्टिङले पनि हेर्ने छ ।’

‘साँच्चै मेरो लागि खेल राम्रो भयो, ’ उनले थपे, ‘मैले त्यँहा ठूलो चुनौती उठाएको थिएँ । जब म जवान थिएँ, त्यहाँ ठूला चुनौती थिए । तर, अलि ठूलो भएँ तब ममा सबै भावनाहरू नियन्त्रण गर्न योग्य भएँ । यो नै मेरो करिअरको खुट्किलो थियो ।’

उनले थपे, ‘त्यो खेल राम्रो भएकाले होला, मेरा लागि धेरै क्लबले इच्छा जताए ।, जब म मैदानमा खुट्टा राख्थेँ, तब मैले मेरो भविष्य फुटबल नै हो भन्ने कुरा थाहा पाउँथेँ । ठ्याक्कै त्यस्तै भयो । म एक व्यवसायीक फुटबलर बन्न सफल भएँ । मैले बिस्तारै कदम चलाएँ । जब मैले युनाइेटडविरुद्ध खेलेँ, त्यहाँ आनन्द उठाए । युनाइटेड एक महान् टिम हो । त्यहाँ बिताएका हरेक कुराको याद आउँछ ।’

‘युनाइटेडले मलाई खेलपछि नभएर अगाडिदेखि नै चाहेको रहेछ,’ उनले थपे, म अझै सम्झन्छु, खेल सकिएपछि स्पोर्टिङका अध्यक्षले मलाई फर्गुसनले चाहेको कुरा बताए । म आफ्नो ड्रेसिङ रुमबाट निस्किएर अर्कौ रुममा गएँ र सबैलाई सनाएँ । किनकी, म धेरै खुशी थिएँ ।’