१ मिनेट बाँकी हुँदा खेल अन्त्य भएको सङ्केत गरेको रेफ्रीले खेलाडीहरूलाई फेरी खेल्न फिर्ता बोलाए पछि

ला लिगामा आइतबार निकै अनौठो घटना भयो। सेभिल्ला र ग्रनाड़ा बिचको खेलमा रेफ्रीले १ मिनेट बाँकी हुँदा खेल अन्त्य भएको सङ्केत गरे र आफ्नो गल्ती थाहा पाए पछि रेफ्रीले ड्रेसिङ रुमबाट खेलाडीहरूलाई फेरी खेल्न फिर्ता बोलाए।

खेलको अन्त्य तिर ४ मिनेटको अतिरिक्त समय थप गरिएको थियो तर रेफ्री रिकार्डो डी बुर्गोस बेन्गोएक्सेआले ९३औँ मिनेटमा खेल अन्त्य गरे। खेल अन्त्य भएको भनेर सबै खेलाडीहरू ड्रेसिङ रुममा पुगी सकेका थिए र रेफ्रीले उक्त गल्ती बारे थाहा पाए पछि १ मिनेट फुटबल खेल्न दुवै टिमको खेलाडीहरूलाई ड्रेसिङ रुम बाहिर बोलाए।

केही खेलाडीहरूले आफ्नो जर्सी पनि खोली सकेका थिए भने १ मिनेट खेल्न दुवै टिमका खेलाडीहरू फेरी बुट र जर्सी लगाउन बाध्य भए।

उक्त खेल भने सेभिल्लाले २-१ले जितेको थियो हाल सो खेलको स्कोर भन्दा रेफ्रीको अनौठो गल्तीको बारे चर्चा हुँदै गरेको छ।