१९ लाखमा संकटाले तयार पार्याे मैदान

संकटा क्लवले निर्माण सुरु गरेको आफ्नो प्रशिक्षण एकेडेमीको प्रारम्भिक कामका रुपमा मैदानको काम अन्तिम चरणमा पुगेको छ । मैदान सम्याउन सुरु गरेको ६ महिनामा नै संकटाले घाँस रोप्ने काम पनि सकेको छ । अब टिमलाई प्रशिक्षणका लागि कतै धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

३१ रोपनी क्षेत्रफलमा भविष्यमा एकेडेमीसहितको मैदान बनाउने लक्ष्यमा रहेको संकटाले पहिलो चरणमा मैदानको काम अन्तिम चरणमा पुर्याएको छ । जसमा उसले १९ लाख रुपैयाँ खर्चमा मैदान सम्याएर लेभल मिलाउदै घाँस उमेरेको छ । घाँस रोप्नका लागि संकटले ११ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै त्यसको लेभल मिलाउनका लािग दुई लाख र सुरुवातमा मैदान सम्याउनका लागि आठ लाख जति खर्च भएको थियो ।

अब मैदानको वरपर तारजाली लगाउने, फिनिसिङको काम बाँकि छ । संघका अध्यक्ष इन्द्रमान तुलाधरले तत्काललाई प्रशिक्षण गर्न मिल्ने राम्रो भेन्यु बनेको र अब चरणबद्ध रुपमा यसको काम अगाडी बढाउने बताएका छन ।

काठमाडौं भन्दा अलिपर शान्त ठाँउमा संकटाले आफ्नो नयाँ योजनालाई विस्तारै मुर्तरुप दिदैछ । आफ्नो प्रशिक्षण मैदान नहुँदा संकटाले अधिकांस समय टुडिखेलमा धुलाम्य मैदानमा प्रशिक्षण गराएको थियो । अघिल्लो सिजनको लिगमा दोस्रो भएको संकटाले प्राय प्रशिक्षण टुडिखेलमा गरेको थियो ।

सोहि बेला नै उसले आफ्नो एकेडेमी सहितको मैदान बनाउने निर्णयका साथ काम अगाडी बढाएको थियो । यसले क्लव लाइसेन्सिङमा पनि सजिलो हुने संकटाको अवधारणा रहेको छ ।