१२ वर्षपछि पहिलोपटक बालोन डि’ ओरको टप–३ मा पर्न असफल – लिओनल मेस्सी

लिओनल मेस्सी पहिलोपटक विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओरको टप–३ बाहिर परेका छन् । उनी सन् २००७ मा पहिलोपटक टप–३ मा परेपछि लगातार टप–३ मा पर्दै आएकोमा मेस्सी १२ वर्षपछि पहिलोपटक टप–३ मा अट्न सकेनन् । रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिकले पहिलोपटक यो अवार्ड जित्दा मेस्सी भने पाँचौं स्थानमा मात्रै रहे ।

मेस्सी १२ वर्षपछि पहिलोपटक बालोन डिओर अवार्डको टप–३ बाट बाहिर हुँदा उनका खास प्रतिस्पर्धी रियल मड्रिडका पूर्व तथा हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज क्रिस्टियानो रोनाल्डो भने लगातार टप–३ पर्न सफल भए । तर, रोनाल्डो भने सन् २०१० मा टप–३ मा परेका थिएनन् । त्यस वर्ष एकै क्लबबाट मेस्सीसँगै आन्द्रेस इनिएस्टा र जाभी परेका थिए ।

अब रोनाल्डो र मेस्सीले १० वर्षको बीचमा समान ५–५ पटक यो अवार्ड जित्दा अन्तिम ३–मा पनि समान एक–एक पटक नै बाहिर रहनु परेको छ ।