१२औं संस्करण विश्वकप क्रिकेटमा नयाँ टिम च्याम्पियन बन्दै

आइसिसी विश्वकप क्रिकेटबाट नयाँ च्याम्पियन पाउने भएको छ। विश्वकप क्रिकेटको जारी १२औं संस्करणले नयाँ विश्व च्याम्पियन छानिनेछ। फाइनलमा पुगेका इङ्ल्याण्ड र न्युजिल्याण्ड दुवै टिमले अहिलेसम्म यो उपाधि जितेका छैन्।

लिग चरणमा भारत पहिलो, अस्ट्रेलिया दोस्रो, इङ्ल्यान्ड तेस्रो र न्युजिल्यान्ड चौथो हुँदै सेमिफाइनलमा पुगे । तर सेमिफाइनलको नतिजा भने धेरैका लागि अप्रत्याशित बन्न पुग्यो। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो र दोस्रो बनेका दुवै टोली सेमिफाइनलमा पराजित भए। तेस्रो र चौथो भएका टोली भने फाइनलमा पुगे। सेमिफाइनलमा न्युजिल्यान्डले बलियो भारतलाई १८ रनले हरायो भने इङ्ल्यान्डले साविक विजेता अस्ट्रेलियालाई ८ विकेटको सहज जित हात पारे।

लिग चरणमा भारत एक खेलमा मात्र पराजित भएको थियो भने अस्ट्रेलियाले दुई खेल हारेको थियो। इङ्ल्यान्ड र न्युजिल्यान्डले भने ३-३ खेलमा पराजित भए। सन् १९७५ देखि सुरु भएको विश्वकपको ११ वटा संस्करण सम्पन्न हुँदासम्म पाँचवटा राष्ट्रले मात्र उपाधि जित्न सकेको छ।

विश्वकपको फाइनलमा इङ्ल्याण्ड र न्युजिल्याण्डबीच पहिलोपटक उपाधि भिडन्त हुन लागेको हो। इङ्ल्याण्ड चौथो पटक फाइनलमा पुगेका हो। न्युजिल्याण्डको यो दोस्रो फाइनल प्रतिस्पर्धा हो। अहिलेसम्म विश्वकपको उपाधि नउचालेका टिमबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने सबैले अपेक्षा गरेको छ।