११ वर्षमा पहिलो पटक मेस्सी र रोनाल्डो विनाको एल क्लासिको

सेभिल्लासँगको जितमा लियोनल मेस्सी चोटग्रस्त भएपछि उनले आइतबार हुने एल क्लासिको गुमाउने पक्का भएको छ। यो संगै सन् २००७ पछि पहिलो पटक स्पेनिस लिगको यो प्रतिष्टित खेलमा मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै हुने छैनन् ।

रियल म्याड्रिडले रोनाल्डोले क्लब छाडेयता सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । रोनाल्डोविनाको रियलले पछिल्लो ५ खेलमा ४ हारको सामना गरेको छ । सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएयता रोनाल्डोले रियलको अग्रपंक्ती सम्हालेका थिए ।

मेस्सी भने सन् २००४ यता बार्सिलोनाको सिनियर टोलीमा स्थान बनाएदेखि बार्सिलोनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

रोनाल्डोले युभेन्टससँग आबद्ध भएपछि एल क्लासिकोले उनलाई गुमाउने पक्का भएको थियो । त्यस्तै शनिबार भएको खेलको २६ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएपछि मेसीपनि उक्त खेलमा अनुपस्थित हुने पक्का भएको थियो । सेभिल्लाविरुद्ध मेस्सीले २६ मिनेटभित्रै १ गोल गर्दै अर्को गोल सिर्जना गरिसकेका थिए ।

मेस्सी र रोनाल्डोबीच एल कासिकोका थुप्रै किर्तिमान बाँडिएका छन् । त्यसैले पनि यस प्रतिष्टित खेलमा दुवै खेलाडी नहुनुले समर्थकहरुलाई दुःखी बनाउनेछ । पछिल्लो पटक सन् २००७ मा मेस्सी र रोनाल्डो दुवै यो खेलमा उपस्थित थिएनन् । रोनाल्डो म्यानचेस्टर युनाइटेडमै आबद्ध थिए भने मेस्सीले चोटका कारण खेल गुमाएका थिए ।

त्यो समय बार्सिलोनाबाट कार्लोस पुयोल, जाबी, आन्द्रे इनियेस्टा, रोनाल्डिनियो, सामुएल इटो जस्ता खेलाडी खेलेका थिए भने रियलबाट इकर कासिलास, पेपे, राउल, रोबिन्हो जस्ता खेलाडी खेलेका थिए। बार्सिलोनाको घरेलु मैदानमा भएको उक्त खेल रियलले १-० ले जितेको थियो। मेसीले बार्सिलोनामा विताएको १४ वर्षमा २ एल क्लासिको मात्र गुमाएका छन् र दुवै खेलमा बार्सिलोनाले पराजय भोगेको छ ।