१० खेलाडीमा सिमित आर्सनलबिरुद्ध रोकियो लिभरपुल

लिभरपुल र आर्सनलले कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन् । लिभरपुलले १० खेलाडीमा समेटिएको आर्सनलसँग पहिलो लेगमा गोलरहित बराबरी खेलेको हो ।

आफ्नो मुख्य फरवार्डद्धय साडियो माने र मोहम्मद सलाहविनै मैदान उत्रिएको लिभरपुलको आक्रमण निकै कमजोर बनेको थियो । बिहीबार राति भएको खेलको २४औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा लिभरपुलले उठाउन सकेन ।

ग्रानिट झाँका सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । लिभरपुलले खेलभर ७८ प्रतिशत बल पोसेसन राखेपनि आर्सनलको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

दोस्रो लेग आर्सनलको मैदानमा २० जनवरीमा हुनेछ । यस खेलको विजेताले उपाधिका लागि २७ फेब्रुअरीमा चेल्सीको सामना गर्नेछ । चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।