१० औँ साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ ।

सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा यो साफको १२ औँ संस्करण हुनजान्छ ।

बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्द्विभ्स, बंगलादेश, अफगानिस्तान र श्रीलङ्काले एक,एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भुटान र पाकिस्तानले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । भारतले सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो । श्रीलङ्काले १९९५, बंगलादेशले २००३, माल्द्विभ्सले २००८ र अफगानिस्तानले २०१३ मा उपाधि जितेका थिए ।

दुई पटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतीजा निकाल्न सकेको छैन । पछिल्लो पटक सन् २०१३ मा काठमाडाँैमै भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुग्यो र अफगानिस्तानसँग पराजित हुँदै खेलबाट बाहिरियो । यसअघि सन् १९९३, १९९९, १९९५ र २०११ मा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

यो संस्करणमा समूह ए मा रहेको नेपालले पाकिस्तान, भुटान र आयोजक टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । तुलनात्मकरुपमा सजिलो समूहमा परेको नेपालका लागि इतिहास रच्ने अवसर जुरेको छ भन्नुपर्छ ।

नेपाली टोलीका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको पहिलो लक्ष्य समूहको विजेता हुँदै सेमिफाइनलसम्म पुग्ने बताउनुभयो । महर्जनलाई प्रशिक्षणमा किरण श्रेष्ठ र नवीन महर्जनले सहायकको रुपमा साथ दिइरहेका छन् ।