१०० प्रतिशत जितका साथ २ खेल बाकी हुँदा नै ‘ए’ डिभिजन लिगको उपाधि जित्न सफल मनाङ

मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बिहिबार भएको खेलमा सीएमजी संकटा क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै मनाङ च्याम्पियन बनेको हो । यो संगै मनाङले कीर्तिमानी आठौं पटक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

मनाङले दुई खेल बाँकी रहदै उपाधि जितेको हो । एन्फा कम्प्लेस सातदोबाटोमा उपाधि जित्न एक जित आवश्यकता रहेको खेलमा मनाङले संकटालाई स्तब्ध बनाउदै उपाधि चुमेको हो । मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडीलाजा सोमिडेले एक एक गोल गरे । संकटाका सेड्रिक अबाले एक गोल फर्काए ।

जितसंगै मनाङले ११ खेलबाट ३३ अंक जोडेको छ । अब मनाङले दुई खेल खेल्न बाँकी छ ।