ह्वावेईसँग अमेरिकी कम्पनीले पुनः कारोबार गर्न सक्छन् : ट्रम्प

चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग जी-२० शिखर सम्मेलनका बेला जापानमा भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अब अमेरिकी प्रविधि कम्पनीहरूलाई चिनियाँ कम्पनी ह्वावेईलाई सामान बिक्री गर्न अनुमति दिने बताए।

यो भेटवार्तापछि ट्रम्पले थप तीन खर्ब डलर बराबरका चिनियाँ आयातमा शुल्क बढाइदिने उनको पुरानो धम्की पनि अब कार्यान्वयन नहुने बताए।

बीबीसीकी एसिया व्यापार सम्वाददाता करिश्मा वास्वानी भन्छिन् भेटवार्तापश्चात् तत्कालका लागि व्यापार युद्धमा छोटो रोक लागे पनि यो युद्ध नै सकिएको रूपमा भने लिन सकिँदैन।

दुई राष्ट्रपतिबीचको व्यापार वार्तालाई राष्ट्रपति ट्रम्पले दुवै पक्षको विजयको रूपमा प्रस्तुत गरेका छन्। तर त्यसले बेइजिङलाई ह्वावेईबारे उसले चाहेको जस्तै नतिजा मिलेको पनि हुनसक्छ।

ह्वावेईमाथि अमेरिकाले लगाएका नियन्त्रण तथा प्रतिबन्ध पूर्ण फुकुवा भएका हुन् कि होइनन् भन्ने पूरै प्रस्ट भइसकेको छैन। तर यदि हो रहेछ भने चाहिँ त्यसलाई बेइजिङका निम्ति ठूलै राहत हुनेछ।

यसअघि ट्रम्प प्रशासनले ह्वावेई कम्पनीलाई राष्ट्रिय सुरक्षामा खतरा भन्दै ऊसँग अमेरिकी प्रविधि कम्पनीको व्यापारिक सम्बन्ध सीमित पारिदिएको थियो।