ह्यारी केन क्लब छोड्न इच्छुक- यी क्लबहरु मध्ये एक हुन सक्छ उनको गन्तव्य

टोटनह्याम युरोपा लिगबाट नकआउट भए पछि क्लबका स्टार स्ट्राइकर ह्यारी केनले क्लब छोड्न सक्ने चर्चा रहेको छ।

उनले उपाधिहरू जित्ने आफ्नो इच्छा स्पष्ट गरेका छन् भने हालै स्पर्स युरोपियन प्रतियोगिताबाट बाहिरिएको छ र उनी क्लबको प्रदर्शनबाट खुसी छैनन्। लिग कपको फाइनलमा स्पर्सले म्यान सिटीको सामना गर्ने छ र स्पर्सको यो सिजनको उपाधि आशामा सो एउटा प्रतियोगिता मात्र बाँकी रहेको छ।

द एथलेटिकका रिपोर्टर डेभिड अर्न्स्टेनका अनुसार केन क्लब छोड्न चाहन्छन् तर स्पर्सका मालिक डेनियल लेवीले उनको लागि £१२० मिलियनको माग गर्ने छन्। ह्यारी केनको प्रदर्शन निकै उत्कृष्ट रहेको छ र उनले क्लबको धेरै रेकर्ड पनि तोडेका छन् र उनको खेलको कारण धेरै क्लबको नजर उनीमा रहेको छ।

खबर अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी उनलाई साइन गर्न इच्छुक छन्। सिटीले उनलाई सर्जियो अगुएरोको विकल्पको रूपमा साइन गर्ने सक्ने चर्चा छ भने फ्रेन्च क्लब पिएसजीको नजर पनि उनीमा रहेको खुलेको छ।

उनको नाम रियल, युभेन्टस र बार्सा सँग पनि जोडिने गरेको छ तर पिएसजी वा म्यान सिटी उनको नयाँ गन्तव्य बन्ने सम्भावना धेरै रहेको जानकारी छ।