हाल्यान्डको गोलसंगै डर्ट्मुन्ड क्वार्टर फाइनलमा

एजेन्सी, जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब सेभियासँग २-२ गोलको बराबरीमा रोकिएपनि समग्रमा ५-४ को जित निकाल्दै डर्टमण्ड क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो लेगमा डर्टमण्डले सेभियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । तर, अर्लिङ हालाण्डले दुई गोल गरेपनि घरेलु मैदानमा डर्टमण्ड बराबरीमा रोकिन पुग्यो ।

खेलको ३५ औं मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ५४ औं मिनेटमा हालाण्डले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

तर, दुई गोलले पछि परेको सेभियाले पुनरागमन गर्यो ।

खेलको ६९ औं मिनेटमा युसुफ एन नासरीले पेनाल्टीमा गोल गर्दै सेभियालाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-२ को बराबरीमा फर्काएका थिए ।

तर, अघिल्लो लेगको हारको कारण सेभिया प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।