हालान्ड साइन गर्न सक्ने बारे बायर्न म्युनिखले यस्तो भने

जर्मन लिग च्याम्पियन बायर्न म्युनिखको नाम पनि डार्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हालान्ड सँग जोडिने सुरु गरेको बेला एफसी बायर्न म्युनिखका आगामी सीईओ ओलिभर कानले सो बारे बोलेका छन्। हलान्डको नाम बायर्न सँग जोडिएको बेला ओलिभर कानले बायर्नले हालान्डलाई साइन गर्न प्रयास गर्ने कुरा अस्वीकार गरे।

नर्वेका स्टारको डार्टमन्ड सँग उत्कृष्ट सिजन रहेको छ र उनी युरोपको सबैभन्दा उत्कृष्ट स्ट्राइकर मध्ये एक बनेका छन् र उनलाई साइन गर्न धेरै क्लब इच्छुक रहेको छ। डार्टमन्डले पनि उनलाई बेच्ने योजना तयार गरेको छ भने उनलाई बेच्न आफ्नो मूल्य पनि सेट गरेको छ जुन धेरै क्लबको लागि ठुलो रकम रहेको छ र बायर्नले पनि सो रकम हाल तिर्न नसक्ने ओलिभर कानको दाबी छ।

 

स्पोर्ट बिल्डसँग कुरा गर्दै ओलिभर कानले भने: “माफ गर्नुहोस्, जसले यसका बारेमा कुरा गर्छन् उनले स्थिति बुझ्दैनन्।

“१०० मिलियन युरो भन्दा बढी खर्च हुने प्याकेज अहिले एफसी बायर्नको लागि अकल्पनीय छ।

“रोबर्ट लेवन्डोव्स्कीसँग अझै हाम्रो दुई वर्षको सम्झौता छ र उनको प्रदर्शन प्रश्न बाहिर छ – उनीसँग ३९ बुन्डेस्लीगा गोल छ।

“त्यस कारण हामीले आज हालान्डको बारेमा चिन्ता लिनु पर्दैन।”