हार बाबजुद पनि रियल म्याड्रिड क्वाटरफाइनलमा प्रवेश

रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा लेगानेससँग १–० ले पराजित भएपनि रियल समग्रमा ३– १ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । रियलले पहिलो लेगमा ३–० को सहज जित निकालेपनि दोस्रो लगमा भने १–० ले पराजित हुन पुग्यो । रियललाई पराजित गर्न लेगानेसका मार्टिन ब्रेथवेटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३०औं मिनेटमा रियलको कमजोर डिफेन्सको फाइदा उठाउदै मार्टिनले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । १–० ले पछि रियलले खेलमा दवाव सिर्जना गरेपनि थप गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

अर्काे खेलमा एट्लेटिको मड्रिड जिरोनासँग ३–३ गोलको बराबरीमा रोकिएपछि अवे गोलको आधारमा पछि पर्दै प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ । समग्रमा ४–४ गोलको बराबरीको खेल भएको थियो । यता सेभिल्लाले एथलेटिको विल्वाओलाई समग्रमा ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ।