च्याम्पियन्स लिग फुटबलमा शाख्तर डोनेस्कसँग पराजित भएपछि रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब बढेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको पाँचौं खेलमा रियल युक्रेनी क्लबसँग २-० ले पराजित भएको थियो ।
डोनेस्कको मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल व्यहोरेको थियो ।
Zidane's future is already in question. pic.twitter.com/tvkesk329i
— ESPN FC (@ESPNFC) December 1, 2020
घरेलु टोलीलाई जित दिलाउन डेन्टिन्हो र मानोर सोलोमोनले एक एक गोल गरेका थिए ।
डोनेस्कसँगको हारले रियलको नकआउट चरणको यात्रा समेत कठिन बनेको छ । समूह ‘बी’ मा रहेको रियललाई अर्को चरणमा पुग्न अन्तिम खेलमा जित्नै पर्ने भएको छ ।
क्लबले लगातार खराब प्रदर्शन गरेपछि जिदानलाई राजीनामाको दबाब समेत बढेको छ । तर, जिदानले राजीनामा नदिने बताएका छन् ।
डोनेस्कविरुद्धको खेलपछि जिदानले आफुले अहिले नै राजीनामा नदिने स्पस्ट पारेका थिए ।
‘म अहिले नै राजीनामा दिन गईरहेको छैन,’ जिदानले भने, ‘हामीसँग सधै कठिन क्षणहरु हुन्छन् । हामी खराब दौडमा छौँ तर हामीले अगाडी बढ्नु आवश्यक छ ।’
रियल युक्रेनी क्लबसँग समूहको चरणमा लगातार पराजित भएको हो । पहिलो भेटमा समेत रियल ३-२ ले पराजित भएको थियो ।
यस समूहमा ७ अंक रियल तेस्रो स्थानमा रहेको छ । च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियललाई अब अन्तिम १६ मा पुग्न अन्तिम खेलमा जित अत्यावश्यक बनेको छ।
यस्तै जिदानले टिमले राम्रो खेलेपनि पराजित भएको बताउदै अब अर्को खेलका लागि सोच्नु पर्ने बेला भएको बताए ।
‘यस परिस्थिति बदल्न मसँग आवश्यक शक्ति छ र म त्यसो गर्न सबै दिनेछु । हामीले राम्रो खेलेका थियौं । हामी बढी हकदार थियौं । अब हामीले हाम्रो शिर माथि उठाउनु पर्छ र अर्को खेलबारे सोच्नु पर्छ,’ जिदानले भने ।
जिदानको नेतृत्वमा रियलले पछिल्लो ११ खेलमा मात्र ४ जित निकालेको छ ।
रियल शनिबार ला लिगामा डिपोर्टिभो अल्भेससँग पराजित भएको थियो ।