‘हामी यसपालि बार्सिलोनाबाट ला लिगाको उपाधि खोस्छौं’ – रामोस

सर्जियो रामोसले आफूहरू जितको बाटोमा फर्किएको बताएका छन् । उनले रियल अब जितको बाटोमा फर्किएको बताउँदै आफूहरू सबै उपाधि होडमा खरो उत्रिने बताएका छन् ।

‘रेडियो क्याटालुनियाँ’ सँग कुरा गर्दै रामोसले रियल एक–दुई हारबाट विचलित हुने टोली नरहेको बताउँदै आफूहरूले अन्तिम समयसम्म लड्ने बताए । ‘हामी अस्तिसम्म फरक अवस्थामा थियौं, अहिले त्यही अवस्था छैन,’ रामोसले भने, ‘हामी जितको सामान्य लयमा आइसकेका छौं, अब यसलाई सिजनभर कायम राख्न चाहन्छौं ।’

अर्को प्रसंगमा बोल्दै रामोसले आफूहरू यसपालि घरेलु लिग ला लिगा जित्न सक्षम रहेको पनि बताए । आफूहरू अहिले लिगमा केही कमजोर अवस्थामा रहे पनि आगामी दिनमा पुनरागमन हुने बताए ।

‘हामी यतिबेला लिगको छैटौं स्थानमा छौं, यसको अर्थ यो होइन कि, हामी त्योभन्दा माथि जान सक्दैनौं,’ रामोसले भने, ‘लिगमा अझै आधाभन्दा बढी खेल बाँकी छन्, हामी उपाधि होडमा फर्किन्छौं । यतिबेला बार्सिलोना सिरानमा छ । तर, ऊ सधैं सिरानमै रहिरहन सक्दैन । हामी यसपटक ऊबाट ला लिगा खोस्न सफल हुनेमा म विश्वस्त छु ।’