‘हामी मेस्सीसँग सेल्फी फोटो खिच्न आएका होइनौं’

कतारले कोपा अमेरिका २०१९ मा पहिलो खेलमा पाराग्वेसँग २-२ को बराबरी खेलेको कतारले दोस्रो खेलमा कोलोम्बियासँग १-० को पराजय बेहोर्यो । २ खेलमा १ अंक जोडेको कतार समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ । कतारले समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाको सामना गर्दैछ । उक्त खेलमा जित दर्ता गरेमा कतारको क्वाटरफाइनलमा प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ ।

खेलको पूर्वसन्ध्यामा बोल्दै कतारका प्रशिक्षक फेलिक्स सान्चेजले मेस्सी विश्वस्तरीय खेलाडी भएपनि कतार उनको सामना गर्न तयार रहेको बताए । ‘ हामी दक्षिण अमेरिकामा प्रख्यात टोली हैनौं । हामीसँग स्तरीय खेलाडी छन् र हामी प्रतिस्पर्धा गर्न आएका हौं, मेस्सीसँग सेल्फी खिच्न होइन,’ उनले थपे, ‘ अर्जेन्टिना बलियो टोली हो तर उपाधि दावेदार पनि । हामी विश्वको उत्कृष्ट खेलाडी भएको टोलीसँग कडा प्रतिस्पर्धा गर्नेछौं ।’

सान्चेजले कतारको पनि दोस्रो चरणमा पुग्ने सम्भावना रहेकोले खेलमा थप हौसला बढेको बताए । ‘हामीसँग पनि छनोट हुने बलियो सम्भावना छ । यसले टोलीलाई निकै हौसला दिएको छ । अझ हामीले अर्जेन्टिनाको यात्रा टुंग्याउने सम्भावना समेत छ,’ उनले भने ।

अर्जेन्टिनाले यश खेलमा जित दर्ता गर्न नसके अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिनेछ ।