हसिम अमलाले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

दक्षिण अफ्रिकाका चर्चित ब्याट्सम्यान हसिम अमलाले सबै फर्म्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । अमलाले बिहीबार सन्यासको घोषणा गरेका हुन् ।  ३६ वर्षीय अमलाले १५ वर्षदेखिको अन्तर्राष्ट्रिय क्रिटेकको यात्रालाई पूर्णबिराम लगाएका छन् ।

अमला २८ नोभेभ्बर २००४ मा भारतविरुद्धको टेस्टमार्फत अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । एक दिवसीय विश्वकपको अन्तर्गतको खेलमा गत २८ जुनमा श्रीलंकाविरुद्धको खेल नै अमलाको अन्तिम खेल बन्यो । दक्षिण अफ्रिकाले ९ विकेटको जित निकालेको उक्त खेलमा अमलाले नटआउट रहँदै १०५ बलमा ८० रन बनाएका थिए । आफ्नो अन्तिर्राष्ट्रिय करियरमा उनले ११८ टेस्ट, १८१, एकदिवसीय र ४४ टी–ट्वेन्टी प्रतियोगितामा राष्ट्रिय टोलीमा सहभागी भए ।

टेस्टको २१५ इनिङ ब्याटिङ गर्दा उनले ९२८२ रन बनाएका छन् । टेस्टमा अमलाले ४१ अर्धशतक, २८ शतक र ३ दोहोरो शतक र एक तेहेरोशतक आफ्नो नाममा दर्ज गराएका छन् ।
एकदिवसीयको १७८ इनिङमा ब्याटिङ गर्दा ८११३ रन बनाएका छन् । एकदिवसीयमा २७ शतक र ३९ अर्धशतक बनाउन सफल भएका छन् । टी–ट्वेन्टीको ४४ इनिङ ब्याटिङ गर्दा १२७७ रन बनाएका छन् । ८ अर्धशतक बनाएका उनको ट्वेन्टीको उच्च स्कोर ९७ रन छ । उनले अन्तराष्ट्रिय क्रिकेटका कुनै पनि प्रतियोगितामा बलिङ भने गरेनन् ।

सन्यासको घोषणापछि अमलाले आफूलाई क्रिकेटको लामो यात्रामा साथ सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट करियरको लामो यात्रामा धेरै कुरा सिक्ने मौका पाएको र धेरैसँग भाइचाराको सम्बन्ध बनाउन सकेको प्रतिक्रिया दिएका छन् । आफूलाई खेलका लागि साथ सहयोग गरी मौका दिने परिवारलाई पनि उनले धन्यवाद दिएका छन् ।

दक्षिण अफ्रिकाको यू–१९ टोलीदेखि नै प्रभावशाली प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण योगदान गरेका अमलाले टेस्ट टोलीको कप्तानको जिम्मेवारीसमेत पाएका थिए । क्रिजमा जमेर खेल्न सक्ने, संकटमा सम्मालिंदै ब्याटिङ गरी टोलीको स्कोर उकास्ने क्षमता अमलामा थियो । हमेसा उनी आफ्ना इनिङमा अर्शशतक र शतकतर्फ अघि बढिरहेका हुन्थे।

अमलाको सन्याससँगै दक्षिण अफ्रिकाको टोलीबाट एक पुस्ताका चर्चित खेलाडी लगभग बाहिरिएका छन् । भेट्रान ब्याट्सम्यान एबी डेभिलियर्सले गत वर्ष सन्यास लिएका थिए । विश्वकप लगतै चर्चित लेग स्पीनर इमरान ताहिर र अलराउण्डर जेपी डुमिनीले सन्यास लिए । पूराना खेलाडीमा अब कप्तानको जिम्मेवारीमा रहेका फा डुप्लेसी छन् ।

-अन्नपूर्ण