हलान्डलाई मेस्सीको साथ खेलाउने हलान्डका एजेन्ट मिनो राइओलाको चाहना

अर्लिङ हलान्डका एजेन्ट मिनो राइओला हाल क्लबहरूको प्रतिनिधिहरू सँग भेट्नेमा व्यस्त छन्। यही हप्ता मात्र उनले रियल म्याड्रिड र बार्सिलोनाका व्यवस्थापन सँग भेट गरेका छन्। गर्मीको ट्रान्सफर विन्डो नजिक आए पछि हलान्डको ट्रान्सफर चर्चा बढेको छ भने उनको एजेन्ट पनि सक्रिय हुन थालेका छन्।

रियल र बार्सा जस्तो क्लबले उनलाई आफ्नो मुख्य लक्ष्य बनाएको बेला खबर अनुसार हलान्डका एजेन्टले आफ्नो मागहरू तयार गर्न थालेका छन्। उनले बार्सिलोना सामु अर्लिङ हलान्डको लागि केही मागहरू गरेका छन्।

हलान्डका प्रतिनिधिहरूले बार्सिलोनाका अधिकारीहरूसँग गर्मी ट्रान्सफर विन्डो अगाडि सम्भावित चालको बारेमा छलफल गरेका थिए र खबर अनुसार एजेन्ट मिनो राइओलाले बार्सा सामु केही क्लब निर्णय र कमिसनको माग राखेका छन्।

स्पेनिस पत्रकार जेरार्ड रोमेरोका अनुसार बार्सिलोनाले एजेन्ट राइओला र हलान्डका बुवा अल्फीलाई €२० मिलियन कमिसनको तिर्नु पर्ने माग रहेको छ।

अर्को माग हलान्डको वार्षिक तलब €३० मिलियनको रहेको छ भने अन्तिम माग क्लबका सुपरस्टार मेस्सी सँग सम्बन्धित रहेको छ। खबर अनुसार मेस्सीलाई क्लब मै राख्न पूर्ण प्रयास गर्न पर्ने पनि हलान्डका एजेन्टले आफ्नो मागमा राखेका छन्।

मेस्सीले क्लब छोड्ने चर्चा हुँदै गर्दा उनलाई क्लब छोड्नबाट रोक्नु पनि एजेन्टको माग भएको खुलेको छ र हलान्डले मेस्सी सँग खेल्न पाउने छन्।