हजार्डले रियलमा ७ नम्बर जर्सी लगाउने

चेल्सीबाट १०० मिलियन युरोमा रियल म्याड्रीड गएका इडेन हजार्डले आफ्नो १० नम्बरको जर्सी छाड्ने भएका छन् । हजार्डले चेल्सी र बेल्जियम दुवै टिमबाट १० नम्बरको जर्सी लाएर खेल्ने गरेका थिए ।

तर, अर्को सिजन स्पेनिस जाइन्ट रियल म्याड्रीडको जर्सीमा मैदाम ओर्लिँदा हजार्ड आफ्नो १० नम्बरको जर्सीमा होइन, म्याड्रीडको लेजेन्डरी जर्सी नम्बर ७ मा देखिनेछन् ।

रियलले सामाजीक सञ्जालबाट हजार्ड अनुबन्ध गरेको जानकारी दिएपनी आधिकारिक रुपमा सान्टियागो बर्नबाउमा उनलाई रियलका खेलाडीको रुपमा प्रस्तुत गर्न भने बाँकी छ ।

हजार्ड यसबेला बेल्जियमका लागि युरोकप छनोट खेल्न व्यस्त भएकाले १३ तारिखमा मात्र उनलाई रियलका नयाँ ‘ग्यालेक्टिको’का रुपमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यही कार्यक्रममा उनले लाउने जर्सीको आधिकारिक जानकारी प्राप्त हुन्छ ।

तर, रियलले आफ्ना नयाँ स्टार खेलाडीको आधिकारिक घोषणा अगावै उनको आफ्नो स्टोरमा उनको जर्सी बेच्न राखेपछि हजार्डले लगाउने जर्सी नम्बरको खुलासा भएको हो । रियल म्याड्रीडको अफिसियल स्टोरमा देखिएको उनको जर्सी अनुसार उनले रियल म्याड्रीडको लेजेन्डरी जर्सी नम्बर लगाउने भएका छन् ।

रियलका सर्वाधिक सफल खेलाडी क्रिस्टियानो रोनाल्डो र राउलले लगाएको जर्सी नम्बर ७ लगाउने भएका हुन् । अहिले सो जर्सी नम्बर मारियानो डियाजले लगाइरहेका छन् । तर, यस सिजन उक्त जर्सी नम्बरको स्तर अनुरुप प्रदर्शन गर्न नसकेका मारियानोले हजार्डको आगमनसँगै नयाँ जर्सी नम्बर रोज्नु पर्ने भएको छ ।